शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

विद्युत प्राधिकरणको अतिक्रमित जग्गा फिर्ता ल्याउन ट्रेड युनियनको माग

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, वैशाख १५ २०८३
विद्युत प्राधिकरणको अतिक्रमित जग्गा फिर्ता ल्याउन ट्रेड युनियनको माग

विभिन्न बैठकहरुका नाममा उच्च पदस्थ कर्मचारीहरुले मासिक तलबबाहेक लाखौँ भत्ता भुत्तानी गर्ने/गराउने गरेको पाइएकाले सो काम अविलम्ब बन्द गर्न पनि माग गरिएको छ।

काठमाडौं- नेपाल विद्युत प्राधिकरणमा क्रियाशिल ट्रेड युनियनहरुले नेपाल विद्युत प्राधिकरणको स्वामित्वमा रहेका विभिन्न ठाउँमा अवस्थित अतिक्रमित जग्गाहरु तत्काल नेपाल विद्युत प्राधिकरणको स्वामित्वमा फिर्ता ल्याउन माग गरेका छन्। 

विभिन्न मागहरूसहित विद्युत प्राधिकरणमा रहेका ऊर्जाशील कर्मचारी संघ, कर्मचारी कल्याण परिषद, कर्मचारी युनियन, राष्ट्रिय कर्मचारी युनियन र कर्मचारी संघले अतिक्रमित जग्गा फिर्ता ल्याउनुपर्नेलगायतका माग राखेका हुन्। 

सरकारले लिएको प्रभावकारी सेवा प्रवाहलाई सार्थक तुल्लाउन हाल विद्युत प्राधिकरणमा विद्युतिय सामाग्रीहरु (तार, पोल, ट्रान्सफरमर, मिटर) आदीको अभाव हुन गइ सेवा प्रवाहमा बाधा पुगेकाले अबिलम्ब आवश्यक सामाग्रीहरुको व्यवस्थापन गरि गुणस्तरीय विद्युत सेवा प्रवाहलाई प्रभावकारी बनाउनसमेत उनीहरूले माग गरेका छन्। 

विद्युत प्राधिकरणमा करिब तीन सयभन्दा बढी सवारी साधनहरुको दुरुपयोग हुन गइ ईन्धन र मर्मत खर्चमा करोडौँ व्ययभार भएको तथा विनियमविपरित सञ्चालक समिति र तह १० भन्दा मुनिका पदाधिकारी/कर्मचारीहरुले प्रयोग गर्दै आइरहेका सम्पूर्ण सवारी साधनहरु तुरुन्त फिर्ता गराउन पनि उनीहरूले माग गरेका छन्। 

डेडिकेटेड-ट्रंकलाईनको बाँकी बक्यौता असुली कार्यमा भएको समस्यालाई समाधान गरी छिटोभन्दा छिटो बक्यौता असुल गराउन तथा सरकारी कार्यालय, कोल्ड स्टोर, सडकवत्ति, कोभिड अनुदान र कालोपाटी लगायत करिब ४८ अर्बभन्दा बढी बाँकी बक्यौता प्रभावकारी ढंगले असुलउपर गर्न तथा विद्युत चुहावट नियन्त्रण कार्यलाई अभियानको रुपमा अघि बढाउन पनि माग गरिएको छ। 

यस्ता छन् अन्य माग

केन्द्रीय कार्यालयमा कार्यालय समयमा सम्पादन गर्न सकिने कामहरुलाई कार्यालय समय अघि/पछि देखाइ विभिन्न बैठकहरुका नाममा उच्च पदस्थ कर्मचारीहरुले मासिक तलबबाहेक लाखौँ भत्ता भुत्तानी गर्ने/गराउने गरेको पाइएकाले सो काम अविलम्ब बन्द गर्न 

विद्युत प्राधिरणको वित्तीय अवस्थालाई मध्यनजर गर्दै हाल पीपीए भइसकेका करिब १२००० मेगावाटको बजार सुनिश्चितता भएपश्चात मात्र आगामी दिनमा विद्युत खरिद सम्झौता गर्दा देखिएको अपारदर्शीतालाई अन्त्य गर्दै प्रतिस्पर्धाको माध्ययमबाट पीपीए गर्न/गराउन

विगतमा नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिले स्वीकृत गरेको अर्गनाइजेसन एन्ड म्यानेजमेन्ट लाई वैज्ञानिक, व्यवहारिक र संस्थाको हितमा हुने गरि रिभ्यू गर्न एवं सरुवा, बढुवा र पदस्थापनलाई कार्यसम्पादनको आधारमा राइट म्यान इन राइट प्लेस गर्न

एउटै निर्देशनालयभित्र विभिन्न झोले आयोजना खडा गरि/गराई एउटै व्यक्तिलाई दर्जनौँ आयोजनाहरुमा जिम्मेवारी तोक्ने, तोकिएको समय र लागतमा आयोजना सम्पन्न नगर्ने, सवारी साधनको दुरुपयोग भई संस्थालाई हानी नोक्सानी गर्ने काम देखिएकाले सो आयोजनाहरु सम्बन्धित निर्देशनालय / प्रादेशिक कार्यालय अन्तर्गत राखी प्रभावकारी ढंगले अगाडि बढाउन

नेपाल विद्युत प्राधिकरणमा विभिन्न कम्पनीहरु गठन गरी पहुँचका आधारमा कर्मचारीहरु खटाउने तथा करिब २०० प्रतिशतभन्दा बढी भत्ता उपलब्ध गराइएको, विनियमावली बमोजिम सरुवा नगरी लामो समयसम्म एउटै कर्मचारी राखिएको बुझिन आएकाले अविलम्ब विनियमावली बमोजिम सरुवा गर्न तथा कार्य सम्पादनको आधारमा नेपाल विद्युत प्राधिकरण भित्रबाट नै कर्मचारी खटाउने व्यवस्थाका लागि

हाल नेपाल सरकारले कर्मचारीहरुलाई विदेश भ्रमणमा खटाउन रोक लगाएता पनि नेपाल विद्युत प्राधिकरण व्यवस्थापनले आफना नजिककालाई पटक पटक बैदेशिक तालीम तथा भ्रमणमा खटाईएकाले अविलम्ब सो काम बन्द गर्न साथै वैदेशिक तालिम र भ्रमणमा खटाउँदा कार्यसम्पादन, आवश्यकता एवं औचित्यका आधारमा सबैलाई समान अवसर मिल्ने गरी खटाउन

लामो समयदेखि पिरमर्कामा परेका कर्मचारीहरुको सरुवा नगरिएको तथा कर्मचारी सेवा सर्त विनियमावली विपरित पहुँचका आधारमा दिनहुँ गरिएको सरुवा बदर गरी सरुवा गर्ने अधिकारीलाई कारवाही गरी विनियमावलीमा भएको व्यवस्था बमोजिम सरुवा गर्न

नेपाल सरकारले अवलम्बन गरेको शून्य फाइलको अवधारणालाई बेवास्ता गरी समयमा नै सम्पादन गर्नुपर्ने फाइलहरु नगरी/नगराइ ढिलासुस्ती गरेको देखिएकाले अविलम्व फस्ट कम फस्ट आउट को अवधारणा अनुसरण गर्न

विद्युत प्राधिकरणभित्र देखिएका सबैखाले विभेदको अन्त्य गर्दै प्रभावकारी सेवा प्रवाह, पारदर्शीता, मितव्ययीता एवं सुशासन कायम गर्न

स्वच्छ नेपाल विद्युत प्राधिकरण अभियानलाई सार्थक तुल्याउन कार्यालय भवन तथा परिसर सफा राख्न तथा करोडौँका पुराना मालसमानहरु अविलम्ब लिलाम बिक्री गर्न/गराउन


प्रकाशित : मंगलबार, वैशाख १५ २०८३११:४४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend