शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

उपत्यकामा पर्यटक बसका लागि बसपार्क नहुँदा समस्या

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, वैशाख १५ २०८३
उपत्यकामा पर्यटक बसका लागि बसपार्क नहुँदा समस्या

महानगरको निर्णयसँगै गत हप्तादेखि माछापोखरी, बालाजु क्षेत्रबाट अवैध रूपमा सञ्चालन हुँदै नुवाकोट, रसुवा र धादिङ चल्ने सवारीसाधन नयाँबसपार्कभित्रबाट सञ्चालन हुन थालेका छन्।

काठमाडौं- सार्वजनिक सवारीसाधन सञ्चालनका लागि गोँगबुस्थित नयाँबसपार्क सञ्चालनमा रहे पनि पर्यटक बसका लागि छुट्टै बसपार्क नहुँदा समस्या भएको छ।

सरकारले मुलुकको आर्थिक मेरुदण्डका रूपमा पर्यटन क्षेत्रलाई लिए पनि उपत्यकाबाट मुलुकका विभिन्न पर्यटकीयस्थलका लागि छुट्ने सवारीसाधनका लागि छुट्टै बसपार्क नहुँदा पर्यटकले सास्ती व्यहोर्दै आएका छन्।

काठमाडौंमा व्यवस्थित बसपार्क नहुँदा दैनिक हजारौँ आन्तरिक तथा बाह्य पर्यटक सोह्रखुट्टे सडकबाट ओहोरदोहोर गर्न बाध्य भएका छन्। करिब तीन दशकदेखि कान्तिपथ सडकबाट गुड्दै आएका पर्यटक बस २०७५ सालदेखि सोह्रखुट्टे सडकमै पार्किङ गरी सञ्चालन हुँदै आएका छन्।

टुरिस्ट बस एसोसिएसन अफ नेपाल (टिवान)का भीष्म न्यौपाने पर्यटक बस पार्किङ तथा सञ्चालनका लागि टिवानले लामो समयदेखि आवाज उठाउँदै आए पनि अहिलेसम्म सुनुवाइ हुन नसकेको बताउँछन्।

'पर्यटक बसपार्क निर्माणका लागि विभिन्न सरोकारवाला निकायलाई सम्भावित स्थानबारे जानकारी गराइसकेका छौँ तर उहाँहरुले चासो नदिँदा पर्यटक बसपार्कले मूर्तरुप पाउन सकेको छैन', उनी भन्छन्।

पर्यटकका लागि प्रभावकारी बस टर्मिनल अभावकै कारण पर्यटक सवारीसाधनलाई सहरका विभिन्न स्थानमा जथाभावी पार्किङ र रोकिनुपर्ने परिस्थितिले पर्यटकले समेत नकारात्मक अनुभव बटुल्न बाध्य भएका छन्।

त्यसैगरी पोखरामा सञ्चालित पर्यटक बसपार्कसमेत अव्यवस्थित हुँदा पर्यटकलाई समस्या परेको अध्यक्ष न्यौपाने बताउँछन्। पर्यटक सवारीसाधनको स्पष्ट पहिचान र कार्य वर्गीकरण नहुँदा थप चुनौती थपिएको उनको भनाइ छ।

हाल प्रचलित यातायात ऐन तथा पर्यटनसम्बन्धी ऐनबीच आवश्यक समन्वय र स्पष्टता नहुँदा पर्यटक सवारीसाधन सञ्चालनमा नीतिगत अन्योलता देखिएको छ। नेपालको पर्यटन उद्योगलाई टिकाउ, व्यवस्थित र प्रतिस्पर्धी बनाउन सक्षम, सुरक्षित, सुविधासम्पन्न र पहिचानयुक्त पर्यटन यातायात पूर्वाधार आवश्यक रहेको टिवानले जनाएको छ।

काठमाडौं महानगरपालिकाले पछिल्लो समय काठमाडौंभित्र अव्यवस्थित रूपमा पार्किङ भई सञ्चालन हुँदै आएका सार्वजनिक सवारीसाधनलाई नयाँबसपार्कभित्रबाट सञ्चालन गर्ने निर्णय गरेको छ। महानगरको निर्णयसँगै गत हप्तादेखि माछापोखरी, बालाजु क्षेत्रबाट अवैध रूपमा सञ्चालन हुँदै नुवाकोट, रसुवा र धादिङ चल्ने सवारीसाधन नयाँबसपार्कभित्रबाट सञ्चालन हुन थालेका छन्।

टिवानका अध्यक्ष न्यौपाने पर्यटक बसपार्क निर्माणका लागि राज्यले कुनै चासो नदिएको बताउनुहुन्छ। पर्यटक बसपार्क लागि छुट्टै ‘पिक एन्ड ड्रप’ नहुँदा पर्यटकले सास्ती खेप्नुपरेको उनको भनाइ छ। सरकारले पर्यटनमार्फत अर्थतन्त्रलाई सबल बनाउन खोजे पनि यसका लागि पूर्वाधार निर्माणमा ध्यान नदिएको अध्यक्ष न्यौपाने बताउँछन्।

नेपाल एसोसिएसन टुर्स एन्ड ट्राभल्स एजेन्ट्स (नाट्टा)का अध्यक्ष कुमारमणि थपलियाले नाट्टाले लामो समयदेखि आधुनिक र सुविधासम्पन्न पर्यटक बसपार्कको आवाज उठाउँदै आए पनि उक्त कुराको सुनुवाइ हुन नसकेको बताए।

हाल काठमाडौंबाट पोखरा र चितवनको सौराह, लुम्बिनी र जनकपुरका लागि मात्रै दैनिक झन्डै एक सय पर्यटकीय बस आवतजावत गर्दै आएका छन् भने दैनिक तीन हजारदेखि चार हजारको हाराहारीमा स्वदेशी तथा विदेशी पर्यटकले पर्यटक बसमा यात्रा गर्ने गरेका छन्।

व्यवसायीले हाल बिहान ५ देखि ७ बजेसम्म सोह्रखुट्टेको सडकमा पर्यटकीय बस पार्किङ गरेर यात्रु बोक्दै आएका छन् भने रातको समयमा विभिन्न ग्यारेजमा शुल्क तिरेर पार्किङ गर्दै आएका छन्। रासस


प्रकाशित : मंगलबार, वैशाख १५ २०८३११:२७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend