शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

निजामती विधेयकको मस्यौदामाथि तीन हजार पाँच सय सुझाव

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, वैशाख १५ २०८३
निजामती विधेयकको मस्यौदामाथि तीन हजार पाँच सय सुझाव

मन्त्रालयले यसअघि उपलब्ध गराएको सुझावका अतिरिक्त अध्ययन कार्यसमूहको इमेल तथा ह्वाट्सएप नम्बरमार्फत आफ्ना रायसुझाव र पृष्ठपोषण पठाउन पनि अनुरोध गरेको छ।

काठमाडौं- संघीय शासन प्रणालीलाई सुदृढ र संस्थागत गर्नका लागि तर्जुमा गरिएको संघीय निजामती सेवा विधेयकको प्रारम्भिक मस्यौदामाथि आजसम्म ३ हजार ५ सयभन्दा बढी राय, सुझाव तथा पृष्ठपोषण प्राप्त भएका छन्।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एक सूचना जारी गरी यसका अतिरिक्त विभिन्न सामाजिक सञ्जालमा व्यक्त भएका सुझाव र प्रतिक्रियासमेत संकलन तथा विश्लेषण गरिरहेको जानकारी गराएको हो।

सरोकार भएका निकाय, राष्ट्रसेवक कर्मचारी र आमनागरिकको जानकारी तथा पृष्ठपोषणका लागि यही बैशाख ११ गते मन्त्रालयको आधिकारिक वेबसाइटमा उक्त मस्यौदा प्रकाशन गरेको थियो।

विधेयकलाई थप प्रभावकारी बनाउन प्राप्त सुझावलाई व्यवस्थित रूपमा संकलन, अध्ययन तथा विश्लेषण गर्न मन्त्रालयले त्यसका लागि प्रशासन सुधार महाशाखा प्रमुखको संयोजकत्वमा एक कार्यसमूह गठन गरी अध्ययन विश्लेषणको कार्य भइरहेको मन्त्रालयले जनाएको छ।

मन्त्रालयले सूचनामा भनेको छ, 'मन्त्रालयद्वारा सार्वजनिक विधेयकको मस्यौदा प्रारम्भिक मस्यौदा भएकाले यसमा सुधारका धेरै क्षेत्रहरू रहेका विषयमा मन्त्रालय अवगत छ। अतः मस्यौदालाई अन्तिम रूप दिनुपूर्व सरोकार भएका निकायबाट प्राप्त सुझाव अध्ययन गरी उपयुक्तता र औचित्यका आधारमा समावेश गरिने विषयमा सम्बद्ध सबैलाई आश्वस्त हुनसमेत अनुरोध छ।'

मन्त्रालयले यसअघि उपलब्ध गराएको सुझावका अतिरिक्त अध्ययन कार्यसमूहको इमेल तथा ह्वाट्सएप नम्बरमार्फत आफ्ना रायसुझाव र पृष्ठपोषण पठाउन पनि अनुरोध गरेको छ।


प्रकाशित : मंगलबार, वैशाख १५ २०८३११:१०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend