शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

डिजिटल नवप्रवर्तन र हरित प्रविधिमा लगानी बढाउन आग्रह

मंगलबार, वैशाख १५ २०८३
डिजिटल नवप्रवर्तन र हरित प्रविधिमा लगानी बढाउन आग्रह

लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले नेपाललाई डिजिटल नवप्रवर्तन, कृत्रिम बौद्धिकता र हरित प्रविधिमा आधारित लगानीको आकर्षक गन्तव्यका रूपमा विकास गर्न सकिने बताएका छन्। ती क्षेत्रमा लक्षित लगानी विस्तार गर्न उनले अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेका छन्।

काठमाडौं- लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले नेपाललाई डिजिटल नवप्रवर्तन, कृत्रिम बौद्धिकता र हरित प्रविधिमा आधारित लगानीको आकर्षक गन्तव्यका रूपमा विकास गर्न सकिने बताएका छन्। ती क्षेत्रमा लक्षित लगानी विस्तार गर्न उनले अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेका छन्।

बेल्जियमस्थित नेपाली दूतावासले ब्रसेल्समा आयोजना गरेको ‘नेपाल–इयू टेक फोरम २०२६’ लाई भर्चुअल सम्बोधन गर्दै ज्ञवालीले नेपाल र युरोपेली संघबीचको सहकार्यलाई परम्परागत विकास साझेदारीबाट अघि बढाउँदै रणनीतिक डिजिटल सृजनातर्फ रूपान्तरण गर्नुपर्ने आवश्यकता औँल्याए।

विश्व अर्थतन्त्र तीव्र डिजिटल रूपान्तरण, कृत्रिम बौद्धिकता प्रविधिको विकास र कम्प्युटिङ क्षमताको बढ्दो मागका कारण पुनःपरिभाषित भइरहेको उल्लेख गर्दै उनले अबको आर्थिक शक्ति प्रविधि, ऊर्जा र मानव पुँजीबीचको समन्वयमा आधारित हुने धारणा व्यक्त गरे।

सरकारले डिजिटल अर्थतन्त्रलाई नीतिगत प्राथमिकतामा राख्दै लगानी वातावरण सुधारका लागि महत्वपूर्ण कदम अघि बढाएको जानकारी दिँदै उनले विदेशी लगानीसम्बन्धी सीमा खुकुलो बनाइएको तथा सूचना प्रविधि र डिजिटल सेवामा स्वामित्व तथा सञ्चालन प्रक्रिया सरलीकरण गरिएको बताए।

कृत्रिम बौद्धिकता प्रविधिको तीव्र विस्तारसँगै ऊर्जा मागमा आएको परिवर्तनलाई उल्लेख गर्दै ज्ञवालीले नेपालमा उपलब्ध स्वच्छ ऊर्जा प्रणालीले डेटा सेन्टर, क्लाउड कम्प्युटिङ तथा एआइ पूर्वाधार विकासका लागि अनुकूल वातावरण प्रदान गर्ने बताए।

लगानी बोर्डले डिजिटल पूर्वाधार विस्तार, नियामकीय सुधार र मानव संसाधन विकासलाई समानान्तर रूपमा अघि बढाइरहेको उल्लेख गर्दै उनले डेटा सेन्टर, आइटी पार्क र डिजिटल हब विकासलाई प्राथमिकतामा राखिएको जानकारी दिए। त्यसैगरी, उनले हाइपरस्केल डेटा सेन्टर, एआइ कम्प्युट, क्लाउड पूर्वाधार तथा प्रविधि कम्पनीहरूलाई नेपाललाई रणनीतिक लगानी गन्तव्यका रूपमा लिन आह्वान गरेका छन्।


प्रकाशित : मंगलबार, वैशाख १५ २०८३०७:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend