काठमाडौं- काठमाडौं उपत्यकाको नदी किनारमा रहेका सुकुम्बासी बस्ती हटाउने क्रम जारी रहेको छ। गएको शनिबारदेखि सुरु भएको सुकुम्बासी बस्ती हटाउने कामलाई सरकारले आज सोमबार पनि जारी राखेको हो।
सरकारले नदी किनार तथा सार्वजनिक जग्गामा बनेका अव्यवस्थित बस्ती हटाउने अभियानअन्तर्गत शनिबार र आइतबार थापाथली, गैह्रिगाउँ र मनोहरा क्षेत्रका बस्ती हटाएको थियो भने हटाउन बाँकी रहेको क्षेत्रहरुमा सोमबार पनि हटाउने कार्य जारी राखेको छ।
सोमबार गैह्रिगाउँ र मनोहरा नदी किनार क्षेत्रमा रहेको सुकुम्बासी बस्तीमा डोजर लगाइएको छ। काठमाडौंको थापाथली, गैह्रिगाउँ र मनोहरा किनार क्षेत्रमा रहेका सुकुम्बासी बस्ती हटाएर त्यहाँ बसोबास गर्दै आएका परिवारलाई दशरथ रंगशालामा स्थापना गरिएको होल्डिङ सेन्टरमा राखि विवरण टिप्ने तथा स्क्रिनिङको काम पनि सँगै भइरहेको छ।
वास्तविक सुकुम्बासीको पहिचान गरी उनीहरूलाई सहरी विकास मन्त्रालय तथा मातहतका निकायहरूले व्यवस्था गरेका विभिन्न स्थानका भवनहरूमा खानेबस्ने सुविधासहित अस्थायी रूपमा स्थानान्तरण गरिने जनाइएको छ।