काठमाडौं- सरकारले अबदेखि सुन खोजतलास अनुमतिपत्र जारी नगर्ने भएको छ। खानी तथा खनिज पदार्थ नियमावलीअनुसार जारी हुँदै आएको अनुमतिपत्र जारी नगर्ने खानी तथा भूगर्भ विभागले जनाएको छ।
खानी तथा खनिज पदार्थ ऐन, २०४२ को दफा ४ बमोजिम विभागवाट थप अध्ययन तथा क्षेत्र निर्धारण प्रयोजनका लागि अति महत्वपूर्ण खनिजअन्तर्गतको सुन खोजतलासको अनुमतिपत्र जारी गर्ने प्रक्रिया हाललाई स्थगन गरेको विभागले जनाएको छ।
विभागबाट गरिएको सुनको अन्वेषण कार्य प्रारम्भिक चरणमा रहेको र हाल जारी खोजतलास अनुमतिपत्रअन्तर्गतको क्षेत्रमा सुन खोजतलास कार्यको सिलसिलामा नदी सतहको नजिकमा मेसिनरी उपकरणहरूको प्रयोग गर्दा नदीको प्राकृतिक बहावमा असर पुग्न गएको भन्दै अनुमतिपत्र जारी रोकेको विभागको सूचनामा उल्लेख छ।
विभागले भूक्षय तथा खोलाको बहाबसमेत परिवर्तन हुन सक्ने देखिएको जनाएको छ। सुन खोजतलासबाट पानीको स्रोतलगायत वातावरणमा समेत असर पर्न सक्ने देखिएको भन्दै अनुमतिपत्र जारी नगर्ने निर्णय गरेको हो।