भोजपुर- वर्षाका कारण यहाँ सडक अवरुद्ध भएको छ भने विद्युत सेवा प्रभावित भएको छ।
जिल्लाको भोजपुर नगरपालिका-५, बोखिमस्थित सडक शनिबार साँझको वर्षाका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ। मध्यपहाडी पुष्पलाल राजमार्गअन्तर्गत पर्ने सडक भएकाले यहाँ दैनिक सवारीसाधन आवतजावत गर्छन्। हाल सवारी आवागमनमा समस्या भएको र सडक मर्मतका लागि पहल भइरहेको वडाध्यक्ष फवीन्द्र प्रधानले बताए।
वर्षाका कारण जिल्लाका ग्रामीण क्षेत्रका कच्ची सडकमा पनि क्षति पुगेको छ। यहाँ सञ्चालित हाइड्रोपावर र ३३ केभी राष्ट्रिय प्रसारण लाइनमा समस्या हुँदा जिल्लाको विद्युत सेवा अवरुद्ध भएको छ। वर्षाका कारण भएको क्षतिको विवरण संकलन भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ।