शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

दक्षिण कोरियाली बजारबाट बाहिरिँदै होन्डा : २३ वर्ष लामो कार बिक्री यात्रामा पूर्णविराम

आइतबार, वैशाख १३ २०८३
दक्षिण कोरियाली बजारबाट बाहिरिँदै होन्डा : २३ वर्ष लामो कार बिक्री यात्रामा पूर्णविराम

दक्षिण कोरिया र जापानबीचको ऐतिहासिक र राजनीतिक तनावका कारण सन् २०१९ देखि दक्षिण कोरियाली नागरिकहरूले सुरु गरेको 'नो जापान' अभियानको सीधा असर जापानी कार उत्पादकहरुलाई परेको छ। त्यसको सबैभन्दा बढी चोट होन्डाले बेहोर्नु परेको विश्लेषण भइरहेको छ।

काठमाडौं- जापानी सवारी उत्पादक कम्पनी होन्डाले दक्षिण कोरियामा आफ्नो कार व्यवसाय पूर्णरूपमा बन्द गर्ने घोषणा गरेको छ। २०२६ को अन्त्यबाट होन्डाले कोरियामा कार बिक्री पूर्णरूपमा बन्द गर्ने बताएको हो। 

विगत २३ वर्षदेखि दक्षिण कोरियाली सडकमा आफ्नो उपस्थिति जनाउँदै आएको होन्डाले निरन्तर घट्दो बिक्री र बदलिँदो बजार परिस्थितिका कारण यो निर्णय लिएको जनाएको छ। 

सन् २००१ मा दक्षिण कोरियाली बजारमा प्रवेश गरेको होन्डाले एक समय निकै राम्रो संख्यामा कार बिक्री गरेको थियो। तर पछिल्ला वर्षहरूमा कम्पनीले ठूलो व्यावसायिक चुनौतीको सामना गरिरहेको छ। जापानी कार निर्माताले चुनौती बेहोर्नुका दुई मुख्य कारण स्थानीय कार उत्पादकको दबदबा र जापानी वस्तुको बहिस्करण। 

दक्षिण कोरियाली घरेलु ब्रान्डहरू हुन्डाई र कियासँगको तीव्र प्रतिस्पर्धामा होन्डाले आफ्नो बजार हिस्सा जोगाउन सकेन। त्यस्तै दक्षिण कोरिया र जापानबीचको ऐतिहासिक र राजनीतिक तनावका कारण सन् २०१९ देखि दक्षिण कोरियाली नागरिकहरूले सुरु गरेको 'नो जापान' अभियानको सीधा असर जापानी कार उत्पादकहरुलाई परेको छ। त्यसको सबैभन्दा बढी चोट होन्डाले बेहोर्नु परेको विश्लेषण भइरहेको छ। 

होन्डाले आफ्नो कार बिक्री बन्द गर्ने तयारी गरे पनि ग्राहकहरूको सुविधालाई ध्यानमा राख्दै 'आफ्टर-सेल्स सर्भिस' र स्पेयर पार्ट्सको आपूर्ति भने केही वर्षसम्म निरन्तर रहने बताएको छ। यता कार व्यवसाय बन्द भए पनि होन्डाका मोटरसाइकल र स्कुटरको बिक्री भने यथावत रहने सम्भावना रहेको होन्डाले संकेत गरेको छ। दक्षिण कोरियामा होन्डाको दुई पाङ्ग्रे डिजिजन बिक्रीका आधारमा अझै पनि तुलनात्मक रूपमा बलियो मानिन्छ।

होन्डा मात्र होइन यसअघि अर्को जापानी कार निर्माता निसानले पनि सन् २०२० मा दक्षिण कोरियाबाट आफ्नो व्यापार बन्द गरिसकेको छ। विश्वको सबैभन्दा धेरै कार बिक्रेता कम्पनी टोयोटा भने दक्षिण कोरियामा आफ्नो अस्तित्व जोगाउन संघर्ष गरिरहेको छ।

कुनै समय प्रविधि र विश्वसनीयताको पर्याय मानिने जापानी कार कम्पनीका लागि दक्षिण कोरियाली बजार अहिले सबैभन्दा चुनौतीपूर्ण बनेको छ। २३ वर्ष लामो बिक्री इतिहास बनाएको होन्डाको यो बहिर्गमनलाई अटोमोबाइल क्षेत्रमा एउटा महत्त्वपूर्ण तर चिन्ताजनक अवस्थाका रुपमा हेरिएको छ। 


प्रकाशित : आइतबार, वैशाख १३ २०८३१२:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend