शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

थापाथलीसहित ३ बस्ती खाली, १४४ परिवार सम्पर्कमा, होटलमा अस्थायी बसोबास व्यवस्था

आइतबार, वैशाख १३ २०८३
थापाथलीसहित ३ बस्ती खाली, १४४ परिवार सम्पर्कमा, होटलमा अस्थायी बसोबास व्यवस्था

नदी किनार र जोखिमपूर्ण सार्वजनिक जग्गामा बनाइएका अव्यवस्थित बस्ती हटाउने अभियान सरकारले तीव्र बनाएको छ।

काठमाडौं- नदी किनार र जोखिमपूर्ण सार्वजनिक जग्गामा बनाइएका अव्यवस्थित बस्ती हटाउने अभियान सरकारले तीव्र बनाएको छ। यसै क्रममा काठमाडौं महानगरपालिका–९ को गैरीगाउँ, वडा नम्बर ३१ को शान्तिनगर र वडा नम्बर ११ स्थित थापाथलीका बस्तीहरू खाली गराउने कार्यलाई निरन्तरता दिइएको छ।

आज बिहान करिब १२:३० बजे थापाथलीस्थित बस्ती पूर्ण रूपमा खाली गरिएको छ। बस्ती हटाउने क्रममा नेपाल प्रहरी र महानगर प्रहरी बलले स्थानीयको सामान उठाउन र सुरक्षित रूपमा ढुवानी गर्न प्रत्यक्ष सहयोग गरेका थिए। प्रभावित नागरिकहरूले समेत सरकारको कदममा सहयोग जनाएपछि स्थानान्तरण प्रक्रिया शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न भएको छ।

हालसम्म थापाथली, गैरीगाउँ र शान्तिनगर क्षेत्रबाट १४४ परिवार सरकारको सम्पर्कमा आएका छन्। बस्तीमा कोही छुटेका छन् कि भनी खोजी तथा उद्धार कार्यसमेत जारी राखिएको जनाइएको छ।

उद्धार गरिएका परिवारहरूलाई प्रारम्भिक रूपमा दशरथ रंगशालामा ल्याई विवरण सङ्कलन गरिएको छ। त्यसपछि उनीहरूलाई अस्थायी रूपमा काठमाडौंका विभिन्न होटलहरूमा बसोबासको व्यवस्था मिलाइएको छ। घरायसी सामग्री भने रंगशाला तथा कीर्तिपुरको सुन्दरीघाटस्थित राधास्वामी सत्संग ब्यास नेपालमा सुरक्षित रूपमा भण्डारण गरिएको छ।

यसैबीच, कागेश्वरी मनोहरा नगरपालिका–८ को गोठाटार बुद्धचोक र वडा नम्बर ९ को मनोहरा टोलमा रहेका बस्तीहरू पनि खाली गर्ने तयारी गरिएको भए पनि आजका लागि उक्त प्रक्रिया स्थगित गरिएको छ। 


प्रकाशित : आइतबार, वैशाख १३ २०८३०६:४६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend