काठमाडौं- सरकारले काठमाडौं उपत्यकाभित्र नदी किनार तथा जोखिमपूर्ण सार्वजनिक र सरकारी जग्गामा बसोबास गर्दै आएका अनधिकृत बस्तीहरू हटाउने अभियानलाई निरन्तरता दिएको छ।
सोही अभियानअन्तर्गत काठमाडौं महानगरपालिका वडा नं. ११ स्थित थापाथलीको बस्ती खाली गरिसकिएको छ भने वडा नं. ९ को गैरीगाउँ र वडा नं. ३१ को शान्तिनगर क्षेत्रमा बस्ती हटाउने क्रम जारी रहेको छ।
यसैबीच, कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ८ को गोठाटार बुद्धचोक र वडा नं. ९ को मनोहरा टोलमा रहेका अनधिकृत बस्तीहरू हटाउने तयारी भइरहेको छ। काठमाडौं उपत्यका विकास प्राधिकरणका अनुसार शान्तिनगरमा ४७६, गैरीगाउँमा १६२, थापाथलीमा १४३, गोठाटारमा ७७ र मनोहरा टोलमा १३ गरी कुल ८७१ अनधिकृत घरधुरी पहिचान गरिएको छ।
बस्ती हटाउने क्रममा नेपाल प्रहरी तथा महानगरका सुरक्षाकर्मीहरूले प्रभावित परिवारलाई सामान सार्न र ढुवानी गर्न सहयोग गरेका छन्। स्थानीयवासीले समेत सहयोग गरेपछि थापाथली क्षेत्रमा बस्ती खाली गर्ने काम शान्तिपूर्ण रूपमा सम्पन्न भएको जनाइएको छ। हालसम्म थापाथली क्षेत्रका ६८ परिवार सरकारको सम्पर्कमा आएका छन् भने अन्य स्थानबाट पनि सम्पर्कमा आउने क्रम जारी रहेको छ। सम्पर्कमा आएका परिवारलाई दशरथ रंगशालास्थित होल्डिङ सेन्टरमा ल्याई विवरण संकलन गर्ने कार्य भइरहेको छ।
उनीहरूको अस्थायी व्यवस्थापनका लागि काठमाडौंका विभिन्न होटलहरूमा राख्ने तयारी गरिएको छ। हालका लागि घरायसी सामानहरू कीर्तिपुरको सुन्दरीघाटस्थित राधास्वामी सत्संग ब्यास नेपालमा सुरक्षित रूपमा राखिएको जनाइएको छ।
सरकारले होल्डिङ सेन्टरमा रहेका परिवारहरू वास्तविक सुकुम्बासी हुन् वा होइनन् भन्ने पहिचान गर्ने कार्य भोलिदेखि सुरु गर्ने जनाएको छ। वास्तविक सुकुम्बासी ठहरिएका परिवारलाई दुई साताभित्र नागार्जुन नगरपालिका वडा नं. १ स्थित सरकारी अपार्टमेन्टमा स्थानान्तरण गर्ने तयारी गरिएको छ। त्यसपछि उनीहरूको दीर्घकालीन व्यवस्थापनको प्रक्रिया अघि बढाइनेछ।