काठमाडौं- काठमाडौं महानगरपालिकाकी कार्यबाहक मेयर सुनिता डंगोलले सार्वजनिक तथा नदी किनार क्षेत्रमा रहेका अनधिकृत संरचना हटाउने कार्यमा मानवीयता र संवेदनशीलता अपनाउन आग्रह गरेकी छन्।
उनका अनुसार महानगरले सार्वजनिक, पर्ति, ऐलानी, सरकारी, सामुदायिक तथा निजी स्वामित्वका जग्गा संरक्षण गर्दा मानव अधिकारका न्यूनतम मूल्य र मान्यतालाई आत्मसात् गर्दै आएको छ। डंगोलले नगर कार्यपालिकाका सदस्यहरूसँग २०८३ वैशाख ११ गते भएको छलफलबाट प्राप्त मार्गनिर्देशनलाई समेत आधार मानेर महानगरको धारणा सार्वजनिक गरिएको स्पष्ट पारेकी छन्।
महानगरले नेपाल सरकारको निर्णय तथा सम्बन्धित मन्त्रालय र जिल्ला प्रशासन कार्यालयको अनुरोधअनुसार नदी किनार तथा सार्वजनिक स्थानमा रहेका अनधिकृत संरचना हटाउने कार्यमा सहयोग गर्ने जनाएको छ। यस क्रममा जेष्ठ नागरिक, बिरामी, गर्भवती महिला, बालबालिका तथा अपाङ्गता भएका व्यक्तिहरूलाई विशेष ध्यान दिँदै सम्मानजनक, सुरक्षित र व्यवस्थित स्थानान्तरण गर्नुपर्नेमा जोड दिइएको छ।
महानगरले सकेसम्म विवादरहित रूपमा व्यवस्थापन गर्ने र कानुन तथा न्याय प्रतिकूल नहुने गरी कार्य अघि बढाउने प्रतिबद्धता जनाएको छ। साथै, यस कार्यमा आवश्यक समन्वयका लागि सरोकारवाला सबै निकाय र सर्वसाधारणसँग सहयोगको आग्रह गरिएको छ।