शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

काठमाडौंमा सुकुम्बासी वस्ती आजदेखि खाली गरिँदै

शनिबार, वैशाख १२ २०८३
काठमाडौंमा सुकुम्बासी वस्ती आजदेखि खाली गरिँदै

राजधानीका थापाथली, मनोहरा र सिनामंगल क्षेत्रमा रहेका सुकुम्बासी वस्ती आज बिहानदेखि खाली गराउने कार्य सुरु गरिएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंको सूचनाअनुसार बिहान ६ बजेदेखि वस्ती हटाउने अभियान अघि बढाइएको हो।

काठमाडौं- राजधानीका थापाथली, मनोहरा र सिनामंगल क्षेत्रमा रहेका सुकुम्बासी वस्ती आज बिहानदेखि खाली गराउने कार्य सुरु गरिएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंको सूचनाअनुसार बिहान ६ बजेदेखि वस्ती हटाउने अभियान अघि बढाइएको हो।

प्रशासनले शुक्रबारसम्म वस्ती खाली गर्न निर्देशन दिएको थियो। सोहीअनुसार केही परिवारले अग्रिम रूपमा सामान सारेका छन् भने बसोबासको विकल्प नपाएकाहरू खुला स्थानमै बस्न बाध्य भएका छन्।

शहरी विकास मन्त्री सुनील लम्सालको अध्यक्षतामा शुक्रबार बसेको बहुनिकाय बैठकले वस्ती व्यवस्थापनका लागि ११ बुँदे निर्णय गर्दै कार्यान्वयन अघि बढाएको हो। निर्णयअनुसार पूर्वसूचना, माइकिङ र समन्वयमार्फत संरचना हटाउनुअघि नै वस्ती खाली गराउनेमा जोड दिइएको छ।

सरकारले मानवीय व्यवस्थापनलाई प्राथमिकता दिने जनाएको छ। अशक्त, अपाङ्ग, बालबालिका, गर्भवती, सुत्केरी तथा वृद्धवृद्धालाई सुरक्षित स्थानमा सार्ने, आवश्यक परे स्वास्थ्य सेवा उपलब्ध गराउने व्यवस्था मिलाइएको छ। प्रारम्भिक आश्रयस्थलमा खाना, पानी र स्वास्थ्य सेवा उपलब्ध गराइनेछ भने त्यसपछि प्रभावित परिवारलाई अल्पकालीन बसोबास स्थलमा स्थानान्तरण गरिनेछ।

प्रत्येक परिवारको पहिचानका लागि भेरिफिकेशन क्याम्प स्थापना गरी परिचयपत्र वितरण गर्ने तयारी गरिएको छ। भेरिफिकेशन नभएका व्यक्तिलाई क्रमशः हटाइने जनाइएको छ।

सुरक्षाका लागि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। प्रशासनले अटेर गरी बसे संरचना भत्काउने चेतावनी दिएको छ।

सरकारले बल प्रयोग नगर्ने बताउँदै सुरक्षित स्थानान्तरणमा जोड दिएको छ। तर विस्थापित परिवारलाई दीर्घकालीन रूपमा कहाँ बसोबास गराउने भन्ने विषय अझै स्पष्ट गरिएको छैन।


प्रकाशित : शनिबार, वैशाख १२ २०८३०६:३५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend