काठमाडौं- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न स्थानीय तहमा सरुवा भई लामो समयसम्म हाजिर नभएका प्रमुख प्रशासकीय अधिकृतहरूमाथि कडा कारबाही प्रक्रिया अघि बढाएको छ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावल ले विभिन्न स्थानीय तहमा सरुवा भई लामो समयसम्म हाजिर नभएका प्रमुख प्रशासकीय अधिकृतहरूलाई तीन दिनभित्र अनिवार्य रूपमा खटाइएको स्थानमा रमाना लिन निर्देशन दिएकी छन्।
मन्त्रालयका अनुसार मिति २०८२ भदौदेखि २०८२ चैतसम्म विभिन्न नगरपालिका तथा गाउँपालिकामा सरुवा भएका उपसचिव तथा शाखा अधिकृत स्तरका १६ जना प्रमुख प्रशासकीय अधिकृतहरू खटाइएको स्थानमा हालसम्म हाजिर नभएको पाइएको छ। ती कर्मचारीहरूलाई मिति २०८३ वैशाख १० गते पत्राचार गर्दै तीन दिनभित्र अनिवार्य रूपमा खटाइएको स्थानीय तहमा रमाना लिई हाजिर हुन निर्देशन दिइएको हो।
मन्त्रालयले निजामती सेवा नियमावली, २०५० को नियम ३९ र ४० अनुसार तोकिएको स्थानमा हाजिर नहुने कर्मचारीमाथि कानुनी कारबाही हुने स्पष्ट पारेको छ।
लामो समयदेखि सरुवा भएका स्थानीय तहमा जान अटेर गरी साविककै कार्यालयमा कार्यरत रहने प्रवृत्ति नियन्त्रण गर्न मन्त्रालयले यस्तो कदम चालेको जनाएको छ। आगामी दिनमा समेत तोकिएको अवधिभित्र हाजिर नहुने कर्मचारीमाथि थप कडा कारबाही प्रक्रिया अघि बढाइने मन्त्रालयले चेतावनी दिएको छ।
मन्त्रालयले कर्मचारी व्यवस्थापनलाई प्रभावकारी बनाउन र स्थानीय तहमा प्रशासनिक नेतृत्व सुनिश्चित गर्न यस्ता कदमहरू आवश्यक भएको उल्लेख गरेको छ।