शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

काठमाडौंको वायु प्रदूषण ‘धेरै अस्वस्थ’ तहमा

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , वैशाख १० २०८३
काठमाडौंको वायु प्रदूषण ‘धेरै अस्वस्थ’ तहमा

यो स्तर ‘धेरै अस्वस्थ’ श्रेणीमा पर्छ, यसले सर्वसाधारणको स्वास्थ्यमा असर पार्न सक्ने जनाइएको छ।

काठमाडौं- काठमाडौं उपत्यकामा वायु प्रदूषण बढ्न थालेको छ। वर्षात् भएसँगै सुधार देखिएको वायु गुणस्तर अचानक खस्किँदै ‘धेरै अस्वस्थ’ तहमा पुगेको छ।

एयर क्वालिटी इन्डेक्स (एक्यूआई) का अनुसार मंगलबार दिउँसो करिब ९२ को हाराहारीमा रहेको वायु गुणस्तर सूचकांक आज बिहान ११ बजेसम्म बढेर २४७ पुगेको छ। यो स्तर ‘धेरै अस्वस्थ’ श्रेणीमा पर्छ, यसले सर्वसाधारणको स्वास्थ्यमा असर पार्न सक्ने जनाइएको छ।

एक्यूआईको मापदण्डअनुसार ०-५० सम्म ‘राम्रो’, ५१-१०० ‘मध्यम’, १०१-१५० ‘अस्वस्थ’, १५१-२०० ‘सबैका लागि अस्वस्थ’, २०१-३०० ‘धेरै अस्वस्थ’ र ३०० भन्दा माथि ‘अत्यन्त खतरनाक’ मानिन्छ। वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीका अनुसार वर्षा नहुनु, बढ्दो सुक्खा, कृषि अवशेष जलाउने प्रवृत्ति तथा वन डढेलोका घटनाले वायु प्रदूषण बढाउन मुख्य भूमिका खेलेका छन्।

'अहिले वर्षा नभएर सुक्खा बढ्दो अवस्थामा छ, यसले धुलो र धुवाँ वायुमण्डलमा थुप्रिन सहयोग गरेको छ,' उनले भने, 'वर्षा भएमा हावामा रहेका कणहरू जमिनमा बस्छन् र प्रदूषण घट्छ, तर अहिले त्यो अवस्था छैन।'

उनका अनुसार सम्बन्धित निकायलाई दिगो तथा वातावरणमैत्री विकासका उपायहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्न आग्रह गरिएको छ।

यस्तै, जल तथा मौसम विज्ञान विभागकी मौसमविद् बिनु महर्जनले आगामी तीन दिनसम्म उल्लेखनीय वर्षाको सम्भावना नरहेको र तापक्रम अझै बढ्ने संकेत देखिएको जानकारी दिइन्। 'वर्षा नहुँदा वायुमण्डल सफा हुन सक्दैन, जसले प्रदूषण थप बढाउने सम्भावना रहन्छ,' उनले भनिन्।

विशेषगरी वायु प्रदूषणको असर बालबालिका, ज्येष्ठ नागरिक तथा श्वासप्रश्वास र मुटु रोगीलाई पर्ने जनाइएको छ। अत्यावश्यकबाहेक बाहिर ननिस्कन, मास्क प्रयोग गर्न र धुलो-धुवाँबाट जोगिन सुझाइएको छ। रासस


प्रकाशित : बिहीबार , वैशाख १० २०८३११:३६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend