काठमाडौं- पश्चिम एसियामा बढ्दो भूराजनीतिक तनाव र समुद्री आपूर्ति मार्गमा अवरोधका कारण अन्तर्राष्ट्रिय कच्चा तेल बजार पुनः उकालो लागेको छ। ऊर्जा विश्लेषक एलेक्स किमानीको पछिल्लो विश्लेषण अनुसार, इरानले स्टेट अफ हर्मुजमा व्यावसायिक जहाज नियन्त्रणमा लिएपछि तेलको मूल्य १०० डलर प्रतिव्यारेल नाघेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्सले दुई जहाज नियन्त्रणमा लिएपछि बजारमा अनिश्चितता थप चुलिएको छ। यस घटनापछि जुन डेलिभरीका लागि ब्रेन्ट कच्चा तेल करिब ३ प्रतिशतले बढेर १०१ डलर नाघेको छ भने डब्लुटिआई पनि उल्लेख्य रूपमा उकालो लागेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धविराम अनिश्चितकालका लागि लम्ब्याउने घोषणा गरे पनि इरानी बन्दरगाहमाथिको नाकाबन्दी जारी राख्ने निर्णयले बजारलाई द्विविधामा राखेको छ।
बहुराष्ट्रिय बैंक स्ट्यान्डर्ड चार्टर्डका ऊर्जा विज्ञहरूका अनुसार अहिलेको अवस्थामा ब्रेन्ट तेलको मूल्य करिब ९५ डलर प्रतिव्यारेल वरिपरि अस्थिर सन्तुलनमा रहेको देखिन्छ। पछिल्ला केही कारोबार दिनको प्रवृत्तिले आपूर्ति कडाइ र युद्ध जोखिमबीचको टकरावलाई स्पष्ट देखाएको छ।
स्टेट अफ हर्जुममा आवतजावत प्रभावित भएपछि खाडी क्षेत्रका धेरै उत्पादक राष्ट्रहरूले उत्पादन कटौती गरेका छन्, जसले भौतिक आपूर्ति झन् कडा बनाएको छ। यसैबीच ओपेकले ‘अधिकतम दिगो उत्पादन क्षमता’ मापन प्रणाली लागू गर्ने तयारी गरिरहेको छ, जसले सन् २०२७ पछि उत्पादन कोटा निर्धारण गर्नेछ।
विश्लेषणअनुसार, वर्तमान द्वन्द्व शान्त भए पनि कच्चा तेलको मूल्य पूर्वस्थितिभन्दा १० देखि २० डलरसम्म उच्च रहने सम्भावना छ। रणनीतिक भण्डारण, स्रोत राष्ट्रवाद र आपूर्ति श्रृंखलामा आएको अवरोधले मूल्यलाई दीर्घकालीन रूपमा समर्थन गर्ने देखिन्छ।
तेलको तुलनामा प्राकृतिक ग्यास बजार भने अपेक्षाकृत स्थिर देखिएको छ। पर्याप्त आपूर्ति र कमजोर मागका कारण मूल्य नियन्त्रणमा रहेको छ। तर युरोप र एसियाबीच आगामी महिनामा आपूर्ति प्रतिस्पर्धा बढ्न सक्ने संकेत गरिएको छ। समग्रमा, पश्चिम एसियामा विकसित भइरहेको परिस्थिति विश्व ऊर्जा बजारका लागि दीर्घकालीन संरचनात्मक परिवर्तनको संकेत बनेको छ, जसले आगामी दिनमा मूल्य र आपूर्ति दुवैमा प्रभाव पार्ने देखिएको छ।