काठमाडौं- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग नेपाल भ्रमणमा रहेका संयुक्त राज्य अमेरिकाका सहायक विदेशमन्त्री एस पल कपुरले भेटवार्ता गरेका छन्। मंगलबार अर्थ मन्त्रालयमा भएको भेटमा नेपालमा हालै सम्पन्न निर्वाचनपछि गठित वर्तमान सरकार र अमेरिकी सरकारबीच सम्भावित साझेदारीका क्षेत्रहरू, लगानी प्रवर्द्धन र द्विपक्षीय सहयोगका विषयमा छलफल भएको छ।
उक्त छलफलमा अर्थमन्त्री डा. वाग्लेले सरकारको मुख्य प्राथमिकता सुशासन, आर्थिक सुधार र गुणस्तरयुक्त भौतिक पुर्वाधार निर्माण रहेको उल्लेख गरे। उनले पुराना अनावश्यक कानूनहरूको खारेजी र नयाँ कानून निर्माणद्वारा आर्थिक सुधार र लगानीको वातावरण सृजना गर्नु सरकारको प्राथमिकता रहेको प्रस्ट पारे।
अमेरिकी लगानीकर्ता तथा गैर आवासिय नेपाली लगानीकर्ताहरूबाट विशेषगरी पर्यटन, स्वच्छ उर्जा र सूचना प्रविधिका क्षेत्रमा लगानी अपेक्षित रहेको समेत सो अवसरमा बताए।
अमेरिकी सहायक विदेशमन्त्री कपुरले नेपाल र अमेरिका बिचको ऐतिहासिक सम्बन्ध आगामी दिनमा अझ सुदृढ हुने विचार व्यक्त गरे। हालै सम्पन्न शान्तिपूर्ण निर्वाचनपश्चात गठित वर्तमान सरकारले लिएको सुधारका कार्यक्रमहरूलाई अमेरिकी राष्ट्रपति र अमेरिकी जनताले सकारात्मकरूपमा नजिकबाट हेरिरहेको समेत बताए।
सफल व्यापारिक सम्बन्ध र यूएस इन्टरनेसल डेभलपमेन्ट फाइनान्स कोअपरेसन जस्ता संस्थाहरूसँगको साझेदारीमा दुवै राष्ट्रहरूले लाभ लिन सक्ने विषयमा सहायक विदेशमन्त्रीले जोड दिए।
भेटमा अर्थसचिव डा. घनश्याम उपाध्याय, अर्थ मन्त्रालय र परराष्ट्र मन्त्रालयका पदाधिकारी तथा नेपालका लागि संयुक्त राज्य अमेरिकाका कार्यवाहक राजदूत स्कट अर्बमसँगै अमेरिकी राजदूतावासका पदाधिकारीको उपस्थिति थियो।