काठमाडौं- राष्ट्रिय उपभोक्ता मञ्चले बोतल तथा जारको पानीको मूल्यवृद्धि गर्ने निर्णयप्रति आपत्ति जनाएको छ। मञ्चले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै नेपाल पानी उद्योग महासंघले हालै गरेको मूल्य समायोजनलाई 'अव्यवहारिक र अस्वाभाविक' भन्दै तत्काल फिर्ता लिन माग गरेको हो।
महासंघले बोतलको पानीमा प्रतिबोतल ४ रुपैयाँ र जारको पानीमा प्रतिजार ५ रुपैयाँसम्म मूल्य बढाउने निर्णय गरेको थियो। मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले उक्त निर्णयले उपभोक्तामाथि अनावश्यक आर्थिक भार थप्ने बताएका छन्।
विज्ञप्तिमा महासंघले कच्चा पदार्थ तथा पेट्रोलियम पदार्थको मूल्यवृद्धिलाई कारण देखाए पनि उक्त दाबी 'अतिशयोक्तिपूर्ण, तथ्यहीन र अवास्तविक' रहेको उल्लेख गरिएको छ। 'यो वास्तविक मूल्य समायोजन नभइ उपभोक्तालाई ठग्ने नियतले गरिएको निर्णयजस्तो देखिन्छ,' मञ्चले भनेको छ।
मञ्चले पानीलाई मानव जीवनका लागि अत्यावश्यक वस्तु भएको उल्लेख गर्दै राज्यको सहमतिबिना यसको मूल्य, गुणस्तर वा परिमाणमा परिवर्तन गर्न नपाइने तर्क गरेको छ। यस्तो अवस्थामा गरिएको मूल्यवृद्धिले आम उपभोक्तामाथि ठूलो आर्थिक बोझ पर्ने चेतावनी पनि दिइएको छ।
साथै पछिल्लो समय पेट्रोलियम पदार्थको मूल्यवृद्धिको बहानामा विभिन्न दैनिक उपभोग्य वस्तु तथा सेवामा मनपरी मूल्य बढाउने प्रवृत्ति बढ्दै गएको भन्दै मञ्चले सरकारको ध्यानाकर्षण गराएको छ। अनुचित व्यापारिक अभ्यासमार्फत उपभोक्तालाई मार पर्ने गतिविधि नियन्त्रण गर्न कडा कारबाही गर्नुपर्ने मञ्चको माग छ।
मञ्चले महासंघलाई तत्काल निर्णय फिर्ता लिन आग्रह गर्दै अन्यथा उपभोक्ता आन्दोलनका कार्यक्रम अघि बढाउने बताएको छ।