शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

वीरगञ्ज भन्सारद्वारा ९ महिनामा १ खर्ब ७७ अर्ब ६६ करोड रुपैयाँ राजस्व संकलन

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, वैशाख ८ २०८३
वीरगञ्ज भन्सारद्वारा ९ महिनामा १ खर्ब ७७ अर्ब ६६ करोड रुपैयाँ राजस्व संकलन

वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले वीरगञ्ज भन्सार कार्यालयले चालु आवको ९ महिनामा लक्ष्यको ८९ प्रतिशत राजस्व संकलन गरेको बताए।

पर्सा- वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको ९ महिनामा १ खर्ब ७७ अर्ब ६६ करोड रुपैयाँ राजस्व संकलन गरेको छ। कार्यालयले गत आवको ९ महिनाको तुलनामा चालु आवको सोही अवधिमा भने १६ अर्ब २० करोड रुपैयाँ अर्थात् १० प्रतिशत बढी राजस्व संकलन गरेको हो।

वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले वीरगञ्ज भन्सार कार्यालयले चालु आवको ९ महिनामा लक्ष्यको ८९ प्रतिशत राजस्व संकलन गरेको बताए। भन्सार विभागले कार्यालयका लागि चालु आवको ९ महिनामा भने १ खर्ब ९९ अर्ब ३४ करोड रुपैयाँ लक्ष्य निर्धारण गरेको थियो।

वीरगञ्ज भन्सारले चालु आवको साउनमा १८ अर्ब ४४ करोड रुपैयाँ, भदौमा २० अर्ब ७३ करोड रुपैयाँ, असोजमा १९ अर्ब ९ करोड रुपैयाँ, कात्तिकमा १७ अर्ब ३३ करोड रुपैयाँ, मंसिरमा २० अर्ब ८० करोड रुपैयाँ राजस्व संकलन गरेको थियो।

त्यस्तै पुसमा २० अर्ब २० करोड रुपैयाँ, माघमा १८ अर्ब ९२ करोड रुपैयाँ, फागुनमा १९ अर्ब ३४ करोड रुपैयाँ र चैतमा २२ अर्ब ८२ करोड रुपैयाँ राजस्व संकलन गरेको छ। भन्सार विभागले वीरगञ्ज भन्सार कार्यालयलाई वर्षभरिमा २ खर्ब ७३ अर्ब ३९ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य दिएको थियो।

तर, चालु आवको ९ महिनामा कुल वार्षिक लक्ष्यको ६५ प्रतिशत मात्रै राजस्व संकलन हुन सकेको छ। चालु आवको ३ महिना अझै बाँकी रहेकाले पनि थप राजस्व संकलन हुने सम्भावना भने कायमै छ। रासस


प्रकाशित : मंगलबार, वैशाख ८ २०८३११:१३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend