शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

१८.४६ प्रतिशतले बढ्यो निर्यात, आयातमा १३.८२ प्रतिशत वृद्धि

सोमबार, वैशाख ७ २०८३
१८.४६ प्रतिशतले बढ्यो निर्यात, आयातमा १३.८२ प्रतिशत वृद्धि

चैत मसान्तसम्म कुल निर्यात २ खर्ब २२ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १८.४६ प्रतिशतले बढी हो।

काठमाडौं- चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ९ महिनामा नेपालको वस्तु निर्यात बढेको छ।

भन्सार विभागको तथ्यांकअनुसार चैत मसान्तसम्म कुल निर्यात २ खर्ब २२ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १८.४६ प्रतिशतले बढी हो।

गत आर्थिक वर्ष २०८१/८२ को पहिलो ९ महिनामा नेपालले १ खर्ब ८८ अर्ब १९ करोड रुपैयाँबराबरको वस्तु निर्यात गरेको थियो।

निर्यातमा उल्लेख्य सुधार भए पनि समग्र वैदेशिक व्यापार संरचनामा असन्तुलन भने यथावत देखिएको छ। उक्त अवधिमा आयात १३.८२ प्रतिशतले बढेर १४ खर्ब ९० अर्ब ४९ करोड रुपैयाँ पुगेको छ।

आयातको तीव्र वृद्धिसँगै व्यापार घाटा पनि १३.०४ प्रतिशतले बढेर १२ खर्ब ६७ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ। कुल वैदेशिक व्यापार १४.४० प्रतिशतले विस्तार हुँदै १७ खर्ब १३ अर्ब ४३ करोड रुपैयाँ पुगेको छ। निर्यातको हिस्सा कुल व्यापारमा सामान्य रूपमा बढेर १३.०१ प्रतिशत पुगेको छ भने आयातको हिस्सा ८६.९९ प्रतिशतमा झरेको छ।

आयात-निर्यात अनुपात ६.९६ बाट घटेर ६.६९ मा आएको छ, जसले निर्यातको तुलनात्मक सुधार संकेत गर्छ। आयातमा उच्च निर्भरता कायम रहँदा व्यापार घाटा भने बढ्दै गएको छ।


प्रकाशित : सोमबार, वैशाख ७ २०८३१७:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend