काठमाडौं- हिमालय रि इन्स्योरेन्सको पुँजीकोष दुरुपयोग गर्दै केही सीमित सञ्चालक तथा प्रबर्द्धकले लाभ लिएको भन्ने अभियोगमा अनुसन्धान भइरहेको छ। वित्तीय छल तथा बीमा फ्रड गरेर आम्दानी गरेको भन्दै सम्पत्ति शुद्धीकरण फौजदारी अभियोगमा नेपाल प्रहरी, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान गरिरहेका छन्।
हिमालयन रिको कोषमा रहेको करिब पाँच अर्ब रुपैयाँ लिएर प्रबर्द्धक तथा सञ्चालकहरूले निजी खातामा सेयर खरिद गरेको पाइएपछि अनुसन्धान अघि बढेको हो।
पब्लिक कम्पनीको स्रोतलाई सीमित व्यक्तिको लाभका लागि यसरी रकम दुरुपयोग भएपछि वित्तीय अपराधको नयाँ पाटोको पटाक्षेप भएको छ।
यो मामिलामा बीमा प्राधिकरणले पनि सुरुवाति अनुसन्धान गरेको थियो। प्राधिकरणको अनुसन्धानले अवैध तरीकाले कम्पनीको रकम परिचालन भएको निष्कर्ष निकालेको थियो।
यही विषयमा धितोपत्र बोर्डले त्यस्तो रकम पुँजी बजारमा कसरी प्रवेश भएको छ? भनेर अनुसन्धान गरेको थियो। बोर्डका कार्यकारी निर्देशक रुपेश केसीको नेतृत्वमा भएको अनुसन्धानको प्रतिवेदन तयार भएर बोर्डले स्वीकृत गरिसकेको छ। बोर्डले स्वीकृत गरेको यही प्रतिवेदनमा आधारित रहेर थप अनुसन्धान गर्न नेपाल प्रहरीलाई पठाउने निर्णय गरिसकेको छ।
बोर्डको यो अनुसन्धानले हिमालयन रिमा दीपक भट्ट तथा सुलभ अग्रवालसहितको समूहले गरेको कोष अपचालनको मोडल अरु कम्पनीमा पनि देखिएको पाइएको छ। बोर्ड निकट स्रोतका अनुसार विशेषगरी बीमा कम्पनीको कोषमा दुरुपयोग भएको पाइएको छ।
सेयर खरिदका लागि त्यस्ता कम्पनीको रकम परिचालन भएको र त्यो पनि सञ्चालक तथा व्यक्तिहरूले लाभ लिएको पाइएको बोर्डको अध्ययनले देखाएको छ। पुँजी बजारमा चलखेल गर्न, कर्नरिङलगायतका गलत विषयमा पनि संगठित अभ्यास व्यापक रहेको उक्त प्रतिवेदनले औल्याएको छ। बोर्डको यो प्रतिवेदन प्रहरीकोमा पुगेपछि प्रहरीले थप अनुसन्धानको प्रक्रिया अघि बढाउनेछ।
‘हिमालयन रिमा जसरी दुई दर्जन व्यवसायीहरू तानिने देखिएको छ यस्तै लाइन धेरै कम्पनीमा देखिने छ यदि अनुसन्धान यसैगरी हुने हो भने’ अुनसन्धानमा सहभागी एक अधिकृतले भने।