काठमाडौं- बालेन शाह ले आज देशका विश्वविद्यालय तथा प्रतिष्ठानका उपकुलपतिहरूसँग छलफल गर्ने भएका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो १२ बजे बस्ने बैठकमा प्रधानमन्त्री कुलपति रहने ११ विश्वविद्यालय र सात प्रतिष्ठानका उपकुलपतिहरूलाई बोलाइएको छ।
बैठकमा विश्वविद्यालय तथा प्रतिष्ठानका समसामयिक समस्या, चुनौती र तिनका समाधानका उपायबारे विस्तृत छलफल हुने जनाइएको छ। साथै तत्काल समाधान गर्न सकिने विषयहरूमा पनि निर्णय उन्मुख संवाद हुने अपेक्षा गरिएको छ।
छलफलमा त्रिभुवन विश्वविद्यालय र काठमाडौँ विश्वविद्यालय का उपकुलपतिसहित पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय र लुम्बिनी बौद्ध विश्वविद्यालय का उपकुलपति सहभागी हुनेछन्।
त्यसैगरी नेपाल संस्कृत विश्वविद्यालय, सुदूरपश्चिमाञ्चल विश्वविद्यालय र मध्यपश्चिमाञ्चल विश्वविद्यालय का उपकुलपतिहरू पनि उपस्थित रहनेछन्।
यसैगरी कृषि तथा वनविज्ञान विश्वविद्यालय, राजर्षि जनक विश्वविद्यालय र शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय का उपकुलपतिहरूसँग पनि प्रधानमन्त्री शाहले संवाद गर्नेछन्।
यस्तै नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान का उपकुलपतिहरूसमेत छलफलमा सहभागी हुनेछन्।
त्यसैगरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान का उपकुलपतिहरूसँग पनि प्रधानमन्त्रीले छलफल गर्ने कार्यक्रम रहेको छ।