काठमाडौं- सरकारले सरकारी कर्मचारीहरूलाई मासिक रूपमा दिँदै आएको तलब अब अर्धमासिक (१५-१५ दिनमा) वितरण गर्ने तयारी गरेको छ।
अर्थ मन्त्रालयअन्तर्गत बजेट तथा कार्यक्रम महाशाखाले नयाँ व्यवस्था कार्यान्वयनका लागि महालेखा नियन्त्रक कार्यालयलाई पत्र पठाएको छ। महाशाखाका सहसचिव डा. सुमन दाहालले पठाएको पत्रमा वैशाख ४ गते भएको मन्त्रीस्तरीय निर्णयअनुसार अर्धमासिक रूपमा तलब वितरण गर्ने आवश्यक व्यवस्था मिलाउन निर्देशन दिइएको छ।
मन्त्रालयका अनुसार उक्त व्यवस्था सरकारमातहतका समिति, आयोग तथा सार्वजनिक संस्थानहरूमा क्रमशः लागू गरिनेछ। यसअघि सरकारी कर्मचारीहरूको तलबभत्ता मासिक रूपमा भुक्तानी गरिँदै आएको थियो।