काठमाडौं- विश्वकै अत्यन्त संवेदनशील समुद्री मार्ग स्टेट अफ हर्मुज वरिपरि पछिल्लो २४ घण्टामा भएको तीव्र उतारचढावले विश्व ऊर्जा बजार र भूराजनीतिक अवस्थालाई पुनः अनिश्चित बनाएको छ।
केवल एक दिनअघि अवस्था तुलनात्मक रूपमा सहज हुने संकेत देखिएको थियो। युद्धविराम अन्त्य नजिकिँदै गर्दा केही जहाजले फेरि यो मार्ग प्रयोग गर्न सक्ने अपेक्षा गरिएको थियो तर त्यसबीच आएको राजनीतिक बयानहरूले स्थिति लगातार बदलिरह्यो।
शुक्रबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको घोषणालाई स्वागत गर्दै स्टेट अफ हर्मुज 'पूर्णरूपमा खुला र सञ्चालनका लागि तयार' रहेको बताएका थिए।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यम सीएनएनका अनुसार यसअघि इरानका विदेशमन्त्री अब्बास अराघचीले पनि व्यावसायिक जहाजका लागि जलमार्ग खुला हुने बताएका थिए। उनले जहाज आवतजावत इरानको समन्वयमा हुने उल्लेख गरेका थिए। यो घोषणापछि अन्तर्राष्ट्रिय बजारमा तुरुन्तै प्रभाव देखियो। कच्चा तेलको मूल्य करिब १० प्रतिशतले घट्यो तर यो अवस्था लामो समय टिकेन।
इरानकै अर्धसरकारी सञ्चारमाध्यमहरूले जलमार्ग सञ्चालनका सर्तहरू अस्पष्ट रहेको भन्दै आलोचना गरे। त्यसपछि ट्रम्पले फेरि अमेरिकी नीति स्पष्ट गर्दै इरानी बन्दरगाहमाथिको नाकाबन्दी 'सम्झौता नभएसम्म पूर्ण रूपमा जारी रहने' बताए।
यसपछि शनिबार इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले स्टेट अफ हर्मुज पुनः बन्द गरिएको घोषणा गर्यो। आईआरजीसीले चेतावनी दिँदै भनेको छ 'स्टेट अफ हर्मुज नजिकिने कुनै पनि जहाजलाई शत्रुसँग सहकार्य मानिनेछ र निशाना बनाइनेछ।'
यो चेतावनी व्यवहारमै देखिएको रिपोर्टहरू पनि आएका छन्। ओमान तटबाट करिब २० माइल टाढा केही जहाजमाथि गोली प्रहार भएको बताइएको छ। एक तेल ट्यांकरका कप्तानका अनुसार पहिलो आक्रमण इरानी गनबोटबाट भएको हो।
अमेरिकाले भने इरानमाथिको नाकाबन्दी जारी राखेको छ। इरानले यसलाई युद्धविराम उल्लंघन भन्दै जलमार्ग पुनः बन्द गर्ने निर्णय गरेको जनाएको छ।
युद्धविराम समाप्त हुन अब केही दिनमात्र बाँकी छ तर वार्ताको अवस्थाबारे दुवै पक्षका फरक-फरक दाबी सार्वजनिक भइरहेका छन्। ट्रम्पले वार्ता 'राम्रो हुँदै गएको' बताए पनि इरानले अमेरिकी प्रस्तावहरूको समीक्षामात्र गरिरहेको जनाएको छ।
मुख्य विवादका विषय अझै उस्तै छन्। इरानको उच्चस्तरीय युरेनियम कार्यक्रम, त्यसको नियन्त्रण र प्रतिबन्ध हटाउने सर्तहरू रहेका छन्।
इरानको सैन्य नेतृत्वले कडा चेतावनी दिएको छ। एक वरिष्ठ सैन्य अधिकारीले पुनः युद्ध सुरु भए नयाँ पुस्ताका मिसाइल प्रयोग गरिने दाबी गरेका छन्। उनले आवश्यक परे विश्व तेल आपूर्तिमा ठूलो असर पार्न सक्ने क्षमता रहेको पनि उल्लेख गरेका छन्।
अर्कोतर्फ वासिङ्टनमा उच्चस्तरीय छलफल तीव्र बनेको छ। अमेरिकी रक्षामन्त्री, गुप्तचर प्रमुख र शीर्ष सैन्य अधिकारीहरू ह्वाइट हाउसमा आपतकालीन बैठकमा सहभागी भएका छन्।
यसबीच पर्दापछाडि वार्ता पनि जारी रहेको संकेत गरिएको छ तर औपचारिक पुष्टि भएको छैन।
विश्वको करिब २० प्रतिशत तेल तथा तरल प्राकृतिक ग्यास यही मार्गबाट ढुवानी हुने भएकाले स्टेट अफ हर्मुजमा देखिएको अस्थिरताले अन्तर्राष्ट्रिय ऊर्जा बजारमा दीर्घकालीन दबाब सिर्जना गर्ने जोखिम बढेको छ।