काठमाडौं- नेपाल पानी उद्योग महासंघले अहिलेकै मूल्यमा पानी बिक्री गर्न नसकिने जनाएको छ।
प्रशोधित पिउने पानीमा हाल ६ सय २० भन्दा बढी उद्योगमार्फत ३० हजारभन्दा बढी व्यक्तिलाई प्रत्यक्ष रोजगारी प्रदान गर्दै आएको जनाउँदै महासंघले अहिले पानी उद्योगमा प्रयोग हुने बोटल, क्याप, र्यापिङ रोल, जार, जार क्यापलगायत कच्चापदार्थहरूको मूल्यमा करिब ४० प्रतिशतभन्दा बढीसम्म वृद्धि भएकोले समस्या भएको जनाएको छ।
'पानी उद्योग १६ अर्वभन्दा बढी लगानी भएको महत्वपूर्ण उद्योग क्षेत्र हो। सुरक्षित तथा गुणस्तरीय पिउने पानी उपलब्ध गराउनुका साथै यस क्षेत्रले राष्ट्रिय अर्थतन्त्र, राजस्व संकलन, रोजगारी सिर्जना, बजार आपूर्ति प्रणाली तथा उपभोक्ता सेवामा महत्वपूर्ण योगदान पत्याउँदै आएको छ। यस्तो महत्वपूर्ण उद्योग क्षेत्रको दिगोपना, सञ्चालन निरन्तरता र संरक्षण सबै पक्षको साझा चासो र जिम्मेवारीको विषय हो' महासंघले भनेको छ।
अत्यधिक मूल्यवृद्धिका कारण डुबानी लागतमा उल्लेखनीय वृद्धि भएको साथै अन्तर्राष्ट्रिय परिस्थितिका कारण कच्चापदार्थ आपूर्ति व्यवस्थामा असहजता उत्पन्न भएको कारण उद्योग सञ्चालन लागत अस्वाभाविक रूपमा बढेको महासंघले जनाएको छ।
विशेषगरी इरान-इजरायल तनाव, इरान-अमेरिका सम्बन्धमा विकसित द्वन्द्वात्मक अवस्था तथा त्यसबाट अन्तर्राष्ट्रिय बजार, आपूर्ति प्रणाली र डुबानी क्षेत्रमा परेको प्रभावका कारण नेपालका पानी उद्योगहरू समेत प्रत्यक्ष प्रभावित भएको महासंघले जनाएको छ। महासंघका अनुसार यसको असर कच्चापदार्थको मूल्य, उपलब्धता र उत्पादन लागतमा स्पष्टरूपमा देखिएको छ।
यस विषयमा नेपाल पानी उद्योग महासंघले निरन्तर उद्योगीहरू, जिल्ला तथा प्रदेश संघहरू र सम्बन्धित सरोकारवाला पक्षहरूसँग परामर्श, समन्वय र वस्तुगत अध्ययन गर्दै आएको जनाएको छ। उक्त अध्ययन, लागत विश्लेषण र बर्तमान अवस्थाको मूल्यांकनका आधारमा हाल कायम मूल्यमा प्रशोधित पिउने पानी बिक्री गर्दै उद्योग सञ्चालन निरन्तरता दिन सक्ने अवस्था नरहेको निष्कर्षमा पुगेको महासंघको भनाइ छ।
यो कुनै नाफामूलक निर्णय नभइ बढेको उत्पादन लागत, ढुवानी खर्च, कच्चापदार्थ मूल्यवृद्धि र उद्योग सञ्चालनको वास्तविक अवस्थाबाट सिर्जित बाध्यात्मक परिस्थिति भएको महासंघले जनाएको छ। उद्योगीहरूलाई हाल कच्चा पदार्थ तथा सञ्चालन लागतमा भएको मूल्यवृद्धिको अनुपातमा उत्पादित पानीको मूल्य समायोजन गरी बिक्री गर्न महासंघले भनेको छ।