काठमाडौं- गाउँपालिका, नगरपालिका तथा वडाको संख्या र सीमा हेरफेर सम्बन्धी विषयमा सरकारले औपचारिक प्रक्रिया अघि बढाएको छ। नेपालमा हाल ७ सय ५३ स्थानीय तह रहेका छन् भने कुल वडाको संख्या ६ हजार ७ सय ४३ रहेको छ। यसैबीच गाउँपालिका, नगरपालिका तथा वडाको संख्या र सीमा हेरफेर सम्बन्धी विषयमा सरकारले प्रक्रिया अघि बढाएको हो।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरोकारवालासँग राय तथा सुझाव माग गर्दै वैशाख ३ गते सबै जिल्ला समन्वय समिति, स्थानीय तह तथा सम्बन्धित निकायलाई पत्राचार गरेको जनाएको छ।
यसक्रममा जिल्ला समन्वय समिति महासंघ, नेपाल नगरपालिका संघ तथा गाउँपालिका राष्ट्रिय महासंघलाई समेत बोधार्थ दिँदै सहजिकरणमा सहयोग गर्न आग्रह गरिएको छ।
मन्त्रालयका अनुसार स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ३, ५, ६, ७ र ८ अनुसार गाउँपालिका तथा नगरपालिका र वडाको संख्या तथा सीमाना हेरफेर, स्थानीय तह एकआपसमा गाभ्ने तथा नगरपालिकाको विद्यमान वर्गीकरण पुनरावलोकन गर्ने सम्बन्धमा प्रारम्भिक मस्यौदा तयार भइसकेको छ।
उक्त मस्यौदाबारे कुनै राय वा सुझाव भए मन्त्रालयको इमेल ठेगानामा तीन दिनभित्र उपलब्ध गराउन मन्त्रालयले अनुरोध गरेको छ।
नेपालको स्थानीय शासन संरचनाअनुसार वडा स्थानीय सरकारको सबैभन्दा सानो एकाइ हो। ७५३ स्थानीय तह (गाउँपालिका र नगरपालिका) लाई ६ हजार ७ सय ४३ वडामा विभाजन गरिएको छ। यी वडाहरू साविकका गाविस वा गाविसका अंशहरूबाट गठन गरिएका हुन्। हालको व्यवस्था अनुसार एउटा स्थानीय तहमा न्यूनतम ५ देखि अधिकतम ३३ वडासम्म रहने प्रावधान छ।