शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

गुल्मीमा आजदेखि सातामा चार पटक हवाई सेवा सञ्चालन

बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, वैशाख ५ २०८३
गुल्मीमा आजदेखि सातामा चार पटक हवाई सेवा सञ्चालन

यसअघि आइतबार, मंगलबार र बिहीबार उडान सञ्चालन हुँदै आएको थियो। नेपाल वायुसेवा निगमका आन्तरिक उडानतर्फ रहेका ट्विनअटर जहाजको मर्मतसम्भार गरेसँगै उडान तालिका थप गरिएको रेसुंगाका स्टेसनका प्रमुख सुमन थापाले जानकारी दिए।

गुल्मी- गुल्मीको रेसुंगा विमानस्थलबाट आजदेखि सातामा चार पटक हवाई उडान सञ्चालन हुने भएका छन्। नेपाल वायुसेवा निगमले काठमाडौंबाट गुल्मीका लागि आइतबार, मंगलबार, बिहीबार र शनिबार उडान भर्ने तालिका सार्वजनिक गरेको हो।

यसअघि आइतबार, मंगलबार र बिहीबार उडान सञ्चालन हुँदै आएको थियो। नेपाल वायुसेवा निगमका आन्तरिक उडानतर्फ रहेका ट्विनअटर जहाजको मर्मतसम्भार गरेसँगै उडान तालिका थप गरिएको रेसुंगाका स्टेसनका प्रमुख सुमन थापाले जानकारी दिए। उनका अनुसार निगमको उडान तालिका थप भएसँगै भाडादरसमेत वृद्धि भएको छ। 

पेट्रोलियम पदार्थको मूल्यवृद्धिसँगै रेसुंगा-काठमाडौंको हवाई उडानको भाडादरमा वृद्धि भएको स्टेसन प्रमुख थापाले बताए। नयाँ लागु गरिएको भाडादर अनुसार काठमाडौंबाट रेसुंगाका लागि १० हजार ९०२ र रेसुंगाबाट काठमाडौंका लागि १० हजार ७०२ रुपैयाँ निर्धारण गरिएको उनले जानकारी दिए। निगमले यसअघि काठमाडौंबाट रेसुंगाका लागि सात हजार ५०० र गुल्मीबाट काठमाडौंका लागि सात हजार ३०० रुपैयाँ भाडादर निर्धारण गरेको थियो।     

विगतमा यात्रुहरूको अत्यधिक घुइँचो हुने गरेको रेसुंगा विमानस्थलमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिसँगै भाडादरमा तीन हजार ४०२ रुपैयाँ मूल्य वृद्धि गरिएकोे स्टेसन प्रमुख थापाले जानकारी दिए। उनका अनुसार निगमले आन्तरिक उडानतर्फ ट्विनअटर जहाजले सेवा दिइरहेको छ। 

वर्षाको समय र प्रतिकूल मौसमका कारणबाहेक पछिल्लो पाँच महिनादेखि गुल्मीको रेसुंगा विमानस्थलमा नियमित रूपमा हवाई सेवा सञ्चालन हुँदै आएको छ। नेपाल वायुसेवा निगमद्वारा १८ सिट क्षमताको ट्विनअटर जहाजबाट काठमाडौं-रेसुंगा सेवा सञ्चालन हुँदै आएको छ। 

काठमाडौंबाट आइतबार बिहान ८ः०५ बजे र रेसुंगाबाट बिहान ९ः०५ बजे र मंगलबार, बिहीबार र शनिबार काठमाडौंबाट बिहान ६ः१५ बजे र रेसुंगा विमानस्थलबाट काठमाडौंका लागि बिहान ७ः१५ बजे उडान हुने स्टेसन प्रमुख थापाले जानकारी दिए। दिउँसोको समयमा हावाको चाप बढी हुने भएकाले प्राविधिक दृष्टिकोणले बिहानको समयमा मात्र उडान भर्ने गरिएको उनको भनाइ छ।

गुल्मीमा हवाई उडान सुरु भएसँगै जिल्लामा आउने आन्तरिक एवं बाह्य पर्यटकको सङ्ख्यामा पनि वृद्धि हुँदै गएको छ। करिब १६ देखि १८ घण्टाको लामो स्थलमार्गबाट यात्रा गरेर राजधानी पुग्नुपर्ने बाध्यता हटेको यात्रुहरू बताउँछन्। सेवा सुरु भएपछि हवाईमार्गबाट ४५ देखि ५० मिनेटमा गुल्मीबाट राजधानी आवतजावत गर्न सकिन्छ। गुल्मीमा नेपाल वायुसेवा निगमले विसं २०८० वैशाख २९ गतेदेखि व्यावसायिक रूपमा हवाई उडान सुरु गरेको थियो। रासस


प्रकाशित : शनिबार, वैशाख ५ २०८३१५:४०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend