शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

कञ्चनजंघा क्षेत्रमा पर्यटकको आगमन सुरु

शनिबार, वैशाख ५ २०८३
कञ्चनजंघा क्षेत्रमा पर्यटकको आगमन सुरु

वर्षमा दुई पटक प्रमुख पर्यटकीय याम मानिन्छ। पहिलो चैतदेखि जेठसम्म र दोस्रो असोजदेखि मङ्सिरसम्म रहेको उनले जानकारी दिए। गत वर्ष पहिलो याममा मात्रै ७५० विदेशी पर्यटक यहाँ आएका घुन्सा चेकपोस्टले जनाएको छ।

फुङ्लिङ(ताप्लेजुङ)- जिल्लामा अवस्थित विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंघा क्षेत्रमा पर्यटकको आगमन सुरु भएको छ। मौसम अनुकूल बन्दै जाँदा आन्तरिक तथा विदेशी पर्यटकको चहलपहल बढ्न थालेको हो।

कञ्चनजंघा क्षेत्र चैतको पहिलो सातादेखि जेठको तेस्रो सातासम्म भ्रमणका लागि उपयुक्त समय मानिन्छ। कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्, घुन्सा चेकपोस्टका पर्यटन सहायक टाँसीछिरिङ शेर्पाका अनुसार पछिल्लो एक महिनामा १६५ जना विदेशी पर्यटकले भ्रमण गरेका छन्।

वर्षमा दुई पटक प्रमुख पर्यटकीय याम मानिन्छ। पहिलो चैतदेखि जेठसम्म र दोस्रो असोजदेखि मङ्सिरसम्म रहेको उनले जानकारी दिए। गत वर्ष पहिलो याममा मात्रै ७५० विदेशी पर्यटक यहाँ आएका घुन्सा चेकपोस्टले जनाएको छ।

कञ्चनजंघा आधार शिविर पुग्न दुई प्रमुख पदमार्ग प्रयोग हुँदै आएका छन्। पाँचथरको गणेशचोक हुँदै सिरिजंघा गाउँपालिका भएर र काठमाडौंबाट हवाईमार्ग हुँदै सुकेटार विमानस्थल पुगेर फक्ताङलुङ गाउँपालिकाको बाटो प्रयोग गरी आधार शिविर पुग्न सकिन्छ।

पर्यटकलाई लक्षित गर्दै कञ्चनजंघा पदमार्गमा सानाठूला गरी ५२ वटा होटल सञ्चालनमा रहेका कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्ले जनाएको छ। फक्ताङलुङ गाउँपालिका-६ ग्याप्लामा करिब सात करोड रुपैयाँभन्दा बढी लगानीमा ‘सिंगी नामजोंग होटल’ सञ्चालनमा आएको छ।

समुद्री सतहबाट तीन हजार ५०० देखि चार हजार ५०० मिटर उचाइसम्म रु एक करोडभन्दा बढी लगानीमा बनेका चार होटल सञ्चालनमा रहेका घुन्सा चेकपोस्टका पर्यटन सहायक शेर्पाले जानकारी दिए। उनका अनुसार अन्य होटलहरूमा पनि करिब ८० लाखभन्दा बढी लगानीका छन्।

सदरमुकाम फुङ्लिङ बजारमा पर्यटक लक्षित गरी ठूला लगानीका होटलहरू सञ्चालनमा आएका छन्। पर्यटकको आगमन बढेसँगै यहाँका पर्यटन तथा होटल व्यवसायी उत्साहित बनेका छन्। कञ्चनजंघा संरक्षण क्षेत्रका स्थानीय समुदायको मुख्य जीविकोपार्जन पर्यटन, होटल व्यवसाय र पशुपालनमा आधारित छ। घुन्सा, फले र याम्फुदिन क्षेत्रका अधिकांश घरपरिवार पर्यटनसँग प्रत्यक्ष रूपमा जोडिएका पर्यटन सहायक शेर्पाले बताए। 

उनका अनुसार कोही होटल सञ्चालन गरेर स्वरोजगार बनेका छन् भने कोही पर्यटक मार्गदर्शक वा सहयोगीका रूपमा आयआर्जन गर्दै आएका छन्। खेतीपातीका सम्भावना कम भएकाले पछिल्लो समय युवापुस्ता पशुपालनभन्दा पर्यटन व्यवसायतर्फ आकर्षित देखिएका उनको भनाइ छ।

सन् १९५५ मे २५ मा कञ्चनजंघाको पहिलो आरोहण भएको इतिहास छ। विगतमा फुङ्लिङबाट पैदल यात्रा गर्दा करिब २४ दिन लाग्ने यस क्षेत्रको भ्रमण अवधि अहिले छोटिएर ११ देखि १६ दिनमा दुवै आधार शिविर पुगेर फर्कन सकिन्छ। यस क्षेत्रमा चैत, वैशाख, जेठ तथा असोज, कात्तिक र मङ्सिरमा पर्यटकको चाप बढी हुने गर्दछ। 

हिमाल आरोहण भने मुख्यतः वैशाख र जेठमा हुने पर्यटन सहायक शेर्पाले जानकारी दिए। यहाँ जापान, जर्मनी, अष्ट्रेलिया, अमेरिका, फ्रान्स, बेलायत, नेदरल्यान्ड, क्यानडा, स्विजरल्यान्ड, बेल्जियम, फिलिपिन्स, स्पेन, स्विडेनलगायत देशबाट पर्यटक आउने गरेका छन्। साथै भारत र चीनबाट पनि कम सङ्ख्यामा पर्यटक भ्रमण तथा आरोहणका लागि आउने गरेका छन्। रासस


प्रकाशित : शनिबार, वैशाख ५ २०८३१५:१४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend