काठमाडौं- स्टेट अफ हर्मुज पुनः खुला गर्ने इरानको घोषणासँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य उल्लेखनीय रूपमा घटेको छ।
इरानले युद्धविराम अवधिभर व्यावसायिक जहाजका लागि मार्ग 'पूर्ण रूपमा खुला' रहने बताएपछि ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल करिब ९८ डलरबाट झरेर ८८ डलरसम्म पुगेको बीबीसीले जनाएको छ।
यसअघि इरान माथि संयुक्त राज्य अमेरिका र इजरायलले सैन्य आक्रमण सुरु गरेपछि स्टेट अफ हर्मुजमा जहाज आवतजावत लगभग ठप्पजस्तै बनेको थियो। त्यसका कारण विश्व बजारमा तेल आपूर्ति घट्दा मूल्य मार्च महिनामा ११९ डलरसम्म पुगेको थियो। युद्ध सुरु हुनुअघि भने ब्रेन्ट तेलको मूल्य ७० डलरभन्दा तल थियो।
इरानका विदेशमन्त्री अब्बास अराघचीले युद्धविराम अवधिभर सबै व्यावसायिक जहाजलाई सुरक्षित आवतजावतको अनुमति दिइने बताएका छन्। उक्त घोषणालाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्वागत गरेका छन्।
घोषणापछि विश्व सेयर बजारमा सकारात्मक संकेत देखिएको छ। एस एन्ड पी ५०० सूचकांक १.२ प्रतिशतले बढ्दा फ्रान्सको क्याक ४० र जर्मनीको ड्याक्स करिब २ प्रतिशतले उकालो लागेका छन्। बेलायतको एफटीएसई १०० पनि ०.७ प्रतिशतले वृद्धि भएको छ।
यद्यपि अन्तर्राष्ट्रिय समुद्री क्षेत्रसँग सम्बन्धित निकायहरूले जोखिम अझै कायम रहेको चेतावनी दिएका छन्। बिम्कोले जलमार्गमा बारुदी सुरुङ (माइन)को सम्भावित खतरा स्पष्ट नभएकाले जहाज सञ्चालनमा सावधानी अपनाउन आग्रह गरेको छ। त्यस्तै अन्तर्राष्ट्रिय समुद्री संगठनले पनि मार्ग पूर्ण रूपमा सुरक्षित भएको पुष्टि गर्न अझै अध्ययन भइरहेको जनाएको छ।
स्टेट अफ हर्मुज विश्व ऊर्जा आपूर्तिको प्रमुख मार्ग हो, जहाँबाट विश्वको करिब पाँचौं हिस्सा तेल तथा तरल ग्यास ढुवानी हुने गर्दछ। यस मार्ग अवरुद्ध हुँदा मल (फर्टिलाइजर) आपूर्तिमा समेत असर परेको थियो, जसले खाद्य मूल्य बढ्ने जोखिम बढाएको छ।
युद्धविराम जारी रहे पनि जहाज कम्पनीहरूले तत्काल जोखिम नलिने संकेत दिएका छन्। सुरक्षा पूर्ण रूपमा सुनिश्चित नभएसम्म मार्ग प्रयोग नगर्ने रणनीति धेरै कम्पनीले अपनाएका छन्। विज्ञहरूका अनुसार आपूर्ति शृङ्खला सामान्य अवस्थामा फर्किन अझै केही समय लाग्नेछ।
यसले देखाउँछ कि स्टेट अफ हर्मुज खुला भए पनि विश्व ऊर्जा बजारमा अनिश्चितता भने अझै कायम नै छ।