शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

आन्तरिक राजस्व कार्यालय जुम्लाद्वारा २५ करोडभन्दा बढी राजस्व संकलन

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, वैशाख ४ २०८३
आन्तरिक राजस्व कार्यालय जुम्लाद्वारा २५ करोडभन्दा बढी राजस्व संकलन

चालु आवको साउनदेखि चैत मसान्तसम्म कार्यालयले २९ करोड ३० लाख ७३ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएकामा ८४ दशमलव ४० प्रतिशत राजस्व संकलन गरेको हो।

जुम्ला- जुम्लास्थित आन्तरिक राजस्व कार्यालयले चालु आर्थिक वर्षको नौ महिनामा  २५ करोड २८ लाख आठ हजार रुपैयाँ राजस्व संकलन गरेको छ। 

चालु आवको साउनदेखि चैत मसान्तसम्म कार्यालयले २९ करोड ३० लाख ७३ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएकामा ८४ दशमलव ४० प्रतिशत राजस्व संकलन गरेको हो।

कार्यालयका प्रमुख कर अधिकृत प्रभात घिमिरेले चालु आवको चैतसम्म आयकरतर्फ  २१ करोड ७३ लाख ९९ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखिएकामा १८ करोड १८ लाख ५७ हजार रुपैयाँ  संकलन भएको जानकारी दिए। घिमिरेका अनुसार भ्याटतर्फ ५ करोड ४० लाख २७ हजार रुपैयाँ संकलन गर्ने लक्ष्य राखिएकामा  पाँच करोड ३२ लाख ३९ हजार अर्थात् ९८ दशमलव ५४ प्रतिशत राजस्व संकलन भएको छ।

यसैगरी अन्त:शुल्कतर्फ  एक करोड ३७ लाख ३ हजार रुपैयाँमध्ये ७५ दशमलव सात प्रतिशत राजस्व संकलन भएको छ। बहालकरतर्फ ८० लाख ११ हजार संकलन गर्ने लक्ष्य राखिएकामा ६६ दशमलव ४० प्रतिशत राजस्व संकलन भएको प्रमुख कर अधिकृत घिमिरेले उल्लेख गरे।

कर दाखिला गर्न आनाकानी गर्ने करदाताको घरमा पुग्ने, टेलिफोन र एसएमएसमार्फत ताकेता गर्ने, कर छुटसम्बन्धी सुविधाबारे प्रचारप्रसार गर्नेलगायत अभियान सञ्चालन गरिएको कार्यालयले जनाएको छ।

लक्ष्य हासिल गर्न बजार अनुगमनलाई निरन्तरता दिने र करदातामुखी व्यावहारिक कर शिक्षा कार्यक्रम सञ्चालन गर्ने तयारी गरिएको कर अधिकृत घिमिरेले बताए। उनका अनुसार कार्यालयले निर्धारण गरिएको वार्षिक लक्ष्य भेटाउने गरी काम भइरहेको छ।

कार्यालयमा आयकरमा दर्ता भएका १६ हजार ९२२ जना करदाता छन्। भ्याटमा दर्ता भएका एक हजार ७१७ र अन्त:शुल्कमा दर्ता भएका ५८२ जना करदाता रहेका आन्तरिक राजस्व कार्यालय जुम्लाले जनाएको छ।


प्रकाशित : शुक्रबार, वैशाख ४ २०८३१८:०५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend