काठमाडौं- पश्चिम एसियामा बढ्दो भू-राजनीतिक तनावबीच कूटनीतिक पहल तीव्र बनेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीच सम्झौता 'अत्यन्त नजिक' पुगेको दाबी गर्दै वार्ता पुनः सुरु हुन सक्ने बताएका छन्।
इजरायल र लेबनानबीच १० दिने युद्धविराम लागु भएको बीबीसीले जनाएको छ। ट्रम्पले यसलाई लेबनानका लागि 'ऐतिहासिक दिन' भन्दै स्वागत गरेका छन्। उनले हिजबुल्लाहले युद्धविरामको पालना गर्ने अपेक्षा व्यक्त गरेका छन्।
युद्धविराम लागु हुनुअघि मध्यरातसम्म दुवै पक्षबीच सीमाक्षेत्रमा आक्रमण-प्रत्याक्रमण जारी रहेको थियो। युद्धविराम सुरु भएसँगै तत्कालका लागि तनाव कम हुने आशा गरिएको भए पनि विश्लेषकहरूले यसलाई अत्यन्तै नाजुक अवस्थाको रूपमा व्याख्या गरेका छन्।
इजरायलले दक्षिणी लेबनानमा करिब १० किलोमिटर गहिराइसम्म 'सुरक्षा क्षेत्र' कायम राख्ने जनाएको छ र त्यहाँका बासिन्दालाई तत्काल नफर्कन चेतावनी दिएको छ। यसले युद्धविरामको स्थायित्वमाथि थप प्रश्न उठाएको छ।
यसैबीच बेलायत र फ्रान्सले शुक्रबार हर्मुजमा समुद्री आवागमनको स्वतन्त्रताबारे उच्चस्तरीय बैठक आयोजना गर्दैछन्। सो बैठकमा करिब ४० देशको सहभागिता रहने अपेक्षा गरिएको छ।
युद्धविरामले तत्कालका लागि राहत दिए पनि दीर्घकालीन स्थायित्व अझै अनिश्चित नै रहेको बीबीसीले जनाएको छ।