काठमाडौं- उत्पादन तथा बिक्री वितरणमा सरकारले लगाएको पूर्ण प्रतिबन्ध अटेरी गर्दै मिठाइलगायतका खानेकुरा निरन्तर उत्पादन गरिरहेको बागमती स्वीट्स प्रालिमा सिलबन्दी गरिएको छ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र जिल्ला प्रशासन कार्यालय काठमाडौंको संयुक्त टोलीले गएको शुक्रबार गरेको बजार अनुगमन क्रममा बागमती स्वीट्समा गम्भीर लापरबाही र अखाद्य वस्तु प्रयोग भएको पाइएपछि पूर्ण प्रतिबन्ध लगाइएको थियो।
तर खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गुणस्तरहीन भएको भन्दै उत्पादन र बिक्री वितरणमा रोक लगाएको ‘बागमती स्वीट्स’ कै खाजा हिजो बिहीबार नेपाल गुणस्तर तथा नापतौल विभागको बैठकमा प्रयोग भएको थियो।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले अर्को सूचना नभएसम्मका लागि उत्पादन र बिक्री वितरणमा पूर्ण रोक लगाएको थियो। विभागले खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ को प्रावधानबमोजिम उक्त पसलमाथि कारबाही प्रक्रिया अघि बढाउँदा निर्देशन अवज्ञा भएको हो।
गएको चैत ३० गते नै बागमती स्विट्सको तयारी खाजाको प्याकेटमा किरा भेटिएको र निकै दुर्गन्ध आएको भन्दै विभागमा उजुरीसमेत परेको थियो। ततप्रश्चात टोलीले गरेको निरीक्षणमा भान्सामा सरसफाइको स्तर सन्तोषजनक नदेखिएको र किरा तथा शत्रुजीव नियन्त्रणका लागि गरिनुपर्ने ‘पेस्ट कन्ट्रोल’ व्यवस्थापन समेत प्रभावकारी नभएको पाइएको थियो।
सबैभन्दा गम्भीर त्रुटि भने मिठाइ र ड्राइफ्रुट्स प्याकमा प्रयोग गर्न ठिक्क पारिएको बदाममा भेटिएको थियो। भण्डारण गरी राखिएको उक्त बदाममा जिउँदो किराहरू भेटिएपछि अनुगमन टोलीले तत्कालै करिब ५ किलो अखाद्य बदाम जफत गरी नष्ट गरेको थियो।
सुक्ष्म अनुसन्धानका लागि किरा परेको बदाम र ड्राइफ्रुट्स मिक्सको नमुना संकलन गरी प्रयोगशालामा परीक्षणका लागि पठाइएको थियो। प्रयोगशाला प्रतिवेदनका आधारमा उद्योगमाथि थप कानूनी कारबाही अघि बढाइने तयारी भइरहँदा सरकारी कार्यक्रममा नै त्यहाँकै खानेकुरा प्रयोग भएको हो।
त्यसलगत्तै कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरणमन्त्री गीता चौधरीको निर्देशनमा बागमती स्वीट्स प्रालिमा बिहीबार सिलबन्दी गरिएको हो। उत्पादन रोक्न चेतावनी दिँदा पनि अटेरी गरेपछि मन्त्री चौधरीको आदेशमा सिलबन्दी गरिएको हो।
मन्त्री चौधरीले आमनागरिकको खाद्य स्वच्छताप्रति सरकार गम्भीर रहेको उल्लेख गर्दै कुनै पनि गुनासो आए कडा कारबाही गरिने स्पष्ट पारेकी छिन्।