काठमाडौं- पश्चिम एसिया क्षेत्रमा बढ्दो भू-राजनीतिक तनावका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य पुनः प्रति ब्यारेल १०० अमेरिकी डलरको नजिक पुगेको छ।
अन्तर्राष्ट्रिय मापदण्डका रूपमा प्रयोग हुने ब्रेन्ट क्रुडको मूल्य करिब ५ प्रतिशतले बढेर प्रति ब्यारेल ९९ दशमलव ३९ अमेरिकी डलर पुगेको छ भने अमेरिकी मापदण्ड वेस्ट टेक्सास इन्टरमिडिएटको मूल्य पनि करिब ४ प्रतिशतले वृद्धि भई ९४ दशमलव ६९ अमेरिकी डलर पुगेको छ।
पर्शियन खाडी क्षेत्रमा रहेको स्टेट अफ हर्मुज हुँदै हुने तेल ढुवानी अझै अवरुद्धजस्तै अवस्थामा रहेको छ। अमेरिकी नौसेनाको कडा निगरानी र इरानको प्रतिकारको चेतावनीका कारण दैनिक रूपमा अत्यन्तै सीमित संख्यामा मात्र तेल बोकेका जहाजहरू सञ्चालनमा रहेका छन्, जसले विश्व आपूर्ति प्रणालीमा दबाब सिर्जना गरेको छ।
यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीच पुनः वार्ता हुन सक्ने संकेत दिएका छन्। उनका अनुसार सप्ताहन्तमा अर्को चरणको वार्ता हुन सक्ने भए पनि त्यसको औपचारिक मिति अझै तय भएको छैन।
अमेरिका–इरानबीच भएको दुई साताको युद्धविराम आगामी अप्रिल २१ मा समाप्त हुने तय भएकाले अन्तर्राष्ट्रिय बजारमा अनिश्चितता अझै बढेको छ। विश्लेषकहरूले युद्धविराम सकिनुअघि व्यापक सहमति हुने सम्भावना न्यून रहेको बताएका छन्।
ऊर्जा आपूर्तिको प्रमुख मार्गका रूपमा रहेको हर्मुज जलडमरूमध्य पूर्ण रूपमा सञ्चालनमा नआएसम्म कच्चा तेलको मूल्यमा दबाब कायम रहने र आगामी दिनमा मूल्य अझै उकालो लाग्न सक्ने जोखिम रहेको विश्लेषण गरिएको छ।