काठमाडौं- चालु आर्थिक वर्षको ९ महिनामा ६ सय १५ वटा उद्योगमा ४१ अर्ब ७९ करोड ८५ लाख २ हजार रुपैयाँबराबरको प्रत्यक्ष विदेशी लगानी प्रतिबद्धता आएको छ।
उद्योग विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार सबैभन्दा बढी लगानी प्रतिबद्धता सूचना प्रविधिमूलक उद्योगमा छ।
९ महिनमा ३ सय ४६ वटा सूचना प्रविधिमूलक उद्योगमा १ अर्ब ४५ करोड ७२ लाख ३६ हजार रुपैयाँबराबरको लगानी प्रतिबद्धता आएको छ।
यसैगरी दोस्रो बढी लगानी प्रतिबद्धता आएको क्षेत्र पर्यटन हो। पर्यटनतर्फमा १ सय ६४ वटा उद्योगमा ११ अर्ब ४६ करोड २० लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको छ।
विभागका अनुसार उत्पादनमूलक उद्योगतर्फ ३८ वटा उद्योगमा २ अर्ब ५४ करोड, ऊर्जामूलक उद्योगतर्फ २ वटा उद्योगमा २३ करोड ४२ लाख रुपैयाँ र कृषिमूलक उद्योगतर्फ १६ वटा परियोजनमा २२ अर्ब ८ करोड ८० लाख रुपैयाँको लगानी प्रतिबद्धता आएको छ।
यसैगरी खनिजतर्फमा दुईवटामा ११ करोड ५० लाख र सेवामूलक उद्योगतर्फ ३ अर्ब ८९ करोड ६४ लाख रुपैयाँ प्रतिबद्धता आएको हो।
विभागका अनुसार विदेशी लगानी प्रतिबद्धता आएका ६ सय १५ वटा उद्योगमध्ये ५ सय ९९ वटा साना प्रकृतिका उद्योग रहेका छन्। मझौला उद्योगतर्फ ८ वटा र ठूला उद्योगतर्फ ८ वटामा विदेशी लगानी प्रतिबद्धता आएको छ।