शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन जारी, सडक उपभोग दस्तुर उठाउन 'प्रिपेड ट्याग कार्ड' जारी गर्न सक्ने

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , वैशाख ३ २०८३
भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन जारी, सडक उपभोग दस्तुर उठाउन 'प्रिपेड ट्याग कार्ड' जारी गर्न सक्ने

निर्देशनअनुसार सरकारले तोकेका सडक तथा सडक खण्डहरूमा चल्ने सवारीसाधनबाट सडक उपभोग दस्तुर संकलन गर्न यस्ता कार्ड प्रयोग गरिनेछ।

काठमाडौं- नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, २०८१ र सोपश्चात २०८२ चैत ३० गतेसम्म जारी गरिएका परिपत्र तथा संशोधनहरू एकीकृत गरी भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, २०८२ जारी गरेको छ। 

विद्युतीय भुक्तानी कार्ड जारी गर्दा अपनाउनुपर्ने नीतिगत व्यवस्थामा परिवर्तन गर्दै राष्ट्र बैंकले 'अनुमतिपत्रप्राप्त वाणिज्य बैंकले सरकारले तोकेका सडक खण्डहरूमा चल्ने सवारीसाधनहरूबाट सडक उपभोग दस्तुर संकलन गर्ने प्रयोजनका लागि आरएफआईडी चिप बेस्ड प्रिपेड ट्याग कार्ड जारी गर्न सक्ने' व्यवस्था गरेको छ। 

सरकारले इलेक्ट्रोनिक टोल प्रणालीमार्फत सडक उपभोग दस्तुर उठाउने तयारी गरिरहेका बेला राष्ट्र बैंकले पनि त्यसलाई सहज बनाउने गरी नयाँ भुक्तानी व्यवस्था अघि सारेको हो। केन्द्रीय बैंकले भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन संशोधन गर्दै वाणिज्य बैंकहरूलाई सडक दस्तुर तिर्नका लागि प्रिपेड कार्ड जारी गर्न सक्ने अनुमति दिएको हो। गएको चैत ५ गते राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको थियो। 

यस व्यवस्थासँगै अब सडक प्रयोग गर्ने सवारीसाधनले नगद बोकेर टोल तिर्नुपर्ने झन्झटबाट मुक्ति पाउने भएका छन्। बैंकहरूले जारी गर्ने आरएफआईडी चिपमा आधारित प्रिपेड ट्याग कार्डमार्फत टोल गेटमै स्वचालित रूपमा शुल्क कट्टा हुनेछ। यसले यात्रालाई छरितो बनाउनुका साथै नगद कारोबारमा हुने सम्भावित दुरुपयोग नियन्त्रण गर्न सहयोग पुग्ने केन्द्रीय बैंकको विश्वास छ।

निर्देशनअनुसार सरकारले तोकेका सडक तथा सडक खण्डहरूमा चल्ने सवारीसाधनबाट सडक उपभोग दस्तुर संकलन गर्न यस्ता कार्ड प्रयोग गरिनेछ। मोबाइल बैंकिङ, स्क्यानिङ प्रविधि र डिजिटल माध्यमबाट भुक्तानी गर्न मिल्ने गरी प्रणाली विकास गरिनेछ।

सडक बोर्ड नेपालले करिब ६ वर्षदेखि रोकिएको सडक दस्तुर संकलन कार्य पुनः सुरु गर्ने तयारी अघि बढाएको छ। कोभिड-१९ महामारी र राष्ट्रिय राजमार्गहरूको विस्तार तथा स्तरोन्नति कार्यका कारण २०७६ सालपछि स्थगित गरिएको दस्तुर अब पुनः उठाइने भएको हो। सडक बोर्ड नेपालले भैरहवा-भूमही सडकखण्डमा रहेको संकलन केन्द्रबाट गएको मंसिरदेखि दस्तुर संकलन सुरु गरिसकेको छ।

यसैगरी राष्ट्र बैंकले डेबिट कार्डमार्फत गरिने कारोबार सीमा परिवर्तन गरेको विषय पनि एकीकृत निर्देशनमा समावेश गरेको छ। 

राष्ट्र बैंकले बिहीबार भुक्तानी प्रणालीसम्बन्धी कार्य गर्ने संस्थाहरूलाई एकीकृत निर्देशन जारी गर्दै डेबिट कार्डबाट हुने कारोबारको सीमा परिवर्तन गरेको उल्लेख गरेको हो।

डेबिट कार्डबाट एकपटकमा २० हजार रुपैयाँसम्म झिक्न पाइने व्यवस्था गरिएको छ। त्यसमा प्रतिदिन ५० हजार रुपैयाँसम्म र प्रतिमहिना तीन लाख रुपैयाँसम्म झिक्न पाइने छ। 

यसअघि गएको असोज २४ मा भुक्तानी प्रणालीसम्बन्धी कार्य गर्ने संस्थाहरूलाई निर्देशन जारी गर्दै राष्ट्र बैंकले यो व्यवस्था परिवर्तन गरेको थियो। त्यसअघि एटीएमबाट प्रतिकारोबार २५ हजार, प्रतिदिन १ लाख र प्रतिमहिना ४ लाख रुपैयाँसम्म निकाल्न पाउने व्यवस्था थियो।


प्रकाशित : बिहीबार , वैशाख ३ २०८३१४:०६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend