काठमाडौं- नेपाल राष्ट्रिय व्यवसायी महासंघले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेर उद्योगी व्यवसायीका समस्याप्रति संवेदनशिल हुन आग्रह गरेको छ। मुलुकको वर्तमान आर्थिक शिथिलता र साना तथा मझौला व्यवसायीले भोग्नुपरेका समस्याबारे महासंघले अर्थमन्त्री वाग्लेलाई भेटेर ध्यानाकर्षण गराएको हो।
महासंघका संस्थापक अध्यक्ष नरेश कटुवालले वर्तमान व्यापारिक अवस्था निकै नाजुक रहेकोबारे अर्थमन्त्रीलाई भेटेर जानकारी गराएको बताए। उनका अनुसार अहिले व्यापार व्यवसाय उक्सिने स्थितिमा छैन। यद्यपि नयाँ सरकार बनेपछि व्यवसायीहरूमा आशा जागेको उनले बताए।
अहिलेको स्थिति उत्साहजनक नभए पनि सामान्य जीविकोपार्जन मात्र चलिरहेको उनको भनाइ छ। कटुवालका अनुसार देशभरका व्यवसायीहरूलाई खड्किएको एमआरपीका विषयमा अर्थमन्त्री वाग्लेसँग छलफल भएको छ।
हाल मौज्दात रहेको स्टक र उत्पादित वस्तुहरूमा उपभोक्तालाई सहज हुनेगरी कसरी एमआरपी व्यवस्थापन गर्ने भन्नेमा महासंघले सुझाव दिएको कटुवालले जानकारी दिए। उनका अनुसार महासंघले स्थानीय सरकारलाई सुम्पिएको घरभाडा नीति स्पष्ट नभएको भन्दै महासंघले सहर र गाउँको वर्गीकरण गरी ‘स्क्वायर फिट’का आधारमा वैज्ञानिक घरभाडा लागू गर्न अर्थमन्त्रीलाई भनेको छ।
त्यस्तै बैंक तथा वित्तीय क्षेत्रमा रहेको तरलतालाई साना व्यवसायीसम्म पुर्याउन ३ प्रतिशत ब्याजदरमा बिना धितो कर्जा उपलब्ध गराउने व्यवस्था गर्न माग गरिएको छ भने भन्सार नाकाहरूमा तयारी मालवस्तु आयात गर्दा हुने झन्झटिलो प्रक्रिया र दररेटका समस्याहरूलाई समाधान गरी आयात-निर्यातलाई सहज बनाउन ध्यानाकर्षण गराइएको छ।
पञ्चायतकालदेखि नै केही सीमित संगठनहरूको मात्रै अर्थतन्त्र सम्बन्धी सुझाव समितिहरूमा वर्चस्व रहेको भन्दै महासंघले अब साना व्यवसायीका संस्थाहरूलाई पनि समावेश गर्न माग गरेको छ। यस विषयमा अर्थमन्त्रीले अब त्यस्तो नहुने बताएको र सबैलाई सहभागी गराइने भन्दै सकारात्मक प्रतिक्रिया दिएको कटुवालले जानकारी दिए।
महासंघको टोलीले अर्थ मन्त्रालय पुगेर अर्थमन्त्री वाग्लेसँग करिब एक घण्टा लामो घनीभूत छलफल गरेको थियो। विगतका सरकारहरूले साना व्यवसायी र सटर व्यवसायीका मुद्दालाई उपेक्षा गरेको गुनासो गर्दै कटुवालले यसपटकको भेट सकारात्मक रहेको बताए। उनका अनुसार अर्थमन्त्रीले आगामी बजेटमार्फत साना तथा मझौला उद्योगीका समस्या सम्बोधन गर्ने र काम गर्ने सहज वातावरण निर्माण गर्ने आश्वासन दिएका छन्। न्युज एजेन्सी नेपाल