पर्सा- बाराको जामुनी नदीमा निर्माणाधीन जामुनी ब्यारेजको हेडवर्क्स (बाँध) क्षेत्रमा ‘अटोमेसन गेट’ लगायतका संरचना निर्माण गरिने भएको छ।
जामुनी ब्यारेजमा हेडवर्क्सलगायत संरचना तयार भए पनि गेटलगायत संरचना अधुरो रहेकाले सिँचाइ परियोजना सञ्चालनमा आउन सकेको थिएन। नारायणी सिँचाइ व्यवस्थापन कार्यालयका प्रमुख मनोजप्रसाद पटेलले हेडवर्क्सको अटोमेसन गेटलगायत संरचना निर्माणको काम अघि बढेको जानकारी दिए ।
'जामुनी ब्यारेजको हेडवर्क्सलगायत संरचना धेरै पहिला नै तयार भइसकेको थियो,' उनले भने, 'हेडवर्क्समा गेटलगायत संरचना नहुँदा सिँचाइको नहरले पूर्णता पाएको थिएन्। केही समय घि बोलपत्र प्रक्रिया अघि बढेसँगै अब सिँचाइले पूर्णता पाउने आशा जगाएको छ।'
नारायणी सिँचाइ व्यवस्थापन कार्यालयले जामुनीमा हेडवर्क्समा अटोमेसन गेटलगायत संरचना निर्माणका लागि विसं २०८२ असार २० गते निर्माण कम्पनीसँग १२ करोड १२ लाख ३ हजार ८१७ रुपैयाँ लागतमा ठेक्का सम्झौता गरेको थियो। सो ठेक्का सम्झौताअनुसार हेडवर्क्सको अटोमेसन गेटलगायत संरचना निर्माण विसं २०८४ साउन २० गतेभित्र निर्माण सम्पन्न हुनुपर्ने छ।
नारायणी सिँचाइ व्यवस्थापन कार्यालयका प्रमुख पटेलले हेडवर्क्सको अटोमेसन गेटलगायत संरचना तोकिएको समयभित्रै निर्माण सम्पन्न गर्नका लागि निर्माण व्यवसायीलाई निर्देशन दिएका छन्। निर्माण कम्पनीका प्रतिनिधि सुरेन्द्रकुमार जैसवालले अहिलेसम्म अटोमेसन गेटलगायत संरचना निर्माणको काम ३० प्रतिशत भएको जानकारी दिए।
'हेडवर्क्सको गेटलगायतका संरचनाको निर्माणको काम भइरहेको छ,' उनले भने, 'ठेक्का सम्झौताअनुसार नै निर्माण सम्पन्न गर्ने लक्ष्य राखेका छौँ।' जामुनी सिँचाइबाट बाराको पूर्वी र रौतहटको गरेर करिब साढे ९ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ हुने बताइन्छ। सो नदीबाट ७५० क्युसेक पानी वितरण गर्न सकिने छ। रासस