सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

इरान युद्धले अमेरिकालाई दोस्रो विश्वयुद्धपछि पहिलो पटक कच्चा तेलको नेट निर्यातकर्ता बनायो

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , वैशाख ३ २०८३
इरान युद्धले अमेरिकालाई दोस्रो विश्वयुद्धपछि पहिलो पटक कच्चा तेलको नेट निर्यातकर्ता बनायो

वार्षिक आधारमा हेर्ने हो भने अमेरिका अन्तिम पटक सन् १९४३ मा कच्चा तेलको नेट निर्यातकर्ता रहेको तथ्यांकले देखाएको छ।

काठमाडौं- इरान युद्धका कारण अवरुद्ध भएको पश्चिम एसियाको आपूर्तिलाई प्रतिस्थापन गर्न खोजिरहेका एसियाली र युरोपेली खरीदकर्ताहरूको माग पूरा गर्न ढुवानीमा भएको वृद्धिले अमेरिका कच्चा तेल निर्यातकर्ता बन्ने स्थितिमा पुग्यो। अमेरिका दोस्रो विश्वयुद्धपछि गतसाता पहिलो पटक कच्चा तेलको नेट निर्यातकर्ता बन्ने स्थितिमा पुगेको हो।

इरानसँग अमेरिका र इजरायलको युद्धले विश्व ऊर्जा बजारमा अहिलेसम्मकै ठूलो अवरोध उत्पन्न गराइरहेको छ। इरानी धम्कीका कारण विश्वको तेल र ग्यास आपूर्तिको करिब २० प्रतिशत हिस्सा ओगट्ने 'स्ट्रेट अफ हर्मुज' बाट हुने ढुवानी करिब रोकिएको थियो।

त्यहाँबाट हुने आपूर्तिमा निर्भर रहेका एसिया र युरोपका रिफाइनरहरूले जहाँबाट सकिन्छ त्यहाँबाट वैकल्पिक कार्गोहरू खरिद गरेका छन्। जसका कारण विश्वकै सबैभन्दा ठूलो उत्पादक अमेरिकाको तेलको मागलाई उल्लेख्य बढाएको छ।

अमेरिका तीव्ररूपमा आफ्नो निर्यात क्षमताको नजिक पुग्दै गरेको विश्लेषण भइरहेको रोयटर्सले लेखेको छ। बुधबार जारी गरिएको अमेरिकी सरकारी तथ्यांकअनुसार गत साता कच्चा तेलको नेट आयात (आयात र निर्यात बीचको अन्तर) घटेर ६६ हजार ब्यारल प्रतिदिनमा झरेको छ। यो सन् २००१ देखिको साप्ताहिक तथ्यांकमा सबैभन्दा कम हो। यसैबीच निर्यात बढेर ५२ लाख ब्यारल प्रतिदिन पुगेको छ, जुन सात महिनायताकै उच्च हो।

वार्षिक आधारमा हेर्ने हो भने अमेरिका अन्तिम पटक सन् १९४३ मा कच्चा तेलको नेट निर्यातकर्ता रहेको तथ्यांकले देखाएको छ। त्यससता २०२६ मा अमेरिका ८० वर्षपछि यो स्थितिमा आइपुगेको देखिएको छ। 

राइस्ट्याडका तेल बजार उपाध्यक्ष जानिभ शाहका अनुसार बढ्दो अमेरिकी कच्चा तेल निर्यात यस कुराको प्रमाण हो कि एट्लान्टिक बेसिन र एसियाली खरीदकर्ताहरू उपलब्ध आपूर्तिको खोजीमा टाढासम्म पुगिरहेका छन्, जहाँ क्षेत्रीय तेलको मूल्यमा रहेको अन्तरले ढुवानी खर्चलाई भरथेग गरिरहेको छ। पछिल्लो समय ग्रीस जस्ता देशले इतिहासमै पहिलो पटक अमेरिकी कच्चा तेल खरिद गरेका छन्।

जहाज ट्र्याकिङ सेवा केपलरका अनुसार गत साताको अमेरिकी निर्यातको करिब ४७ प्रतिशत अर्थात् २४ लाख ब्यारल प्रतिदिन युरोपतर्फ तेल निर्यात भएको थियो। करिब १४.९ लाख ब्यारल प्रतिदिन (करिब ३७ प्रतिशत) एसियातर्फ गयो जुन एक वर्षअघि ३० प्रतिशतमात्र थियो। यसको प्रमुख खरीदकर्ताहरूमा नेदरल्याण्ड्स, जापान, फ्रान्स, जर्मनी र दक्षिण कोरिया रहेका छन्।

केपलरको तथ्यांकले ५ लाख ब्यारल कच्चा तेल बोकेको एउटा जहाज टर्कीतर्फ जाँदै गरेको देखाएको छ। 

गतसाता अमेरिकाको आयात १० लाख ब्यारल प्रतिदिन भन्दा बढीले घटेर ५३ लाख ब्यारल प्रतिदिन पुगेको थियो। अमेरिकाले अझै पनि ठूलो मात्रामा कच्चा तेल आयात गर्दछ किनभने यसका रिफाइनरीहरू आफूले उत्पादन गर्ने हल्का 'स्वीट' ग्रेडको तुलनामा भारी र 'सावर' ग्रेडको तेल प्रशोधन गर्न डिजाइन गरिएका छन्।

निर्यात अवस्थाको नजिक

केपलरका विश्लेषक म्याट स्मिथले अप्रिलका लागि अमेरिकी निर्यात करिब ५२ लाख ब्यारल प्रतिदिन पुग्न सक्ने बताउँदै मासिकरूपमा निर्यातले क्षमताको सीमालाई धकेलिरहेको बताएको रोयटर्सले उल्लेख गरेको छ।

सीमित पाइपलाइन क्षमता र जहाजको उपलब्धतालाई उद्धृत गर्दै व्यापारी र विश्लेषकहरूले अमेरिकाले अधिकतम ६० लाख ब्यारल प्रतिदिनसम्म निर्यात गर्न सक्ने बताएका छन्। सरकारी तथ्यांकअनुसार यसको निर्यात सन् २०२३ मा ५६ लाख ब्यारल प्रतिदिनको कीर्तिमानी स्तरमा पुगेको थियो।

दुबईमा रहेका तेल व्यापारी बेक्जोड जुख्रित्दिनोभका अनुसार बजारले गत साता निर्यात गरिएको ५२ लाख ब्यारल प्रतिदिनबाटै निर्यातको अधिकतम सीमा परीक्षण गरिसकेको छ। यहाँबाट थपिने प्रत्येक ब्यारलको ढुवानी र व्यवस्थापन खर्च अघिल्लोको तुलनामा महँगो हुनेछ उनको भनाइ छ। 

रणनीतिक पेट्रोलियम भण्डारबाट मध्यम सावर कच्चा तेल जारी गर्दा अमेरिकाको हल्का र कम सल्फर भएको ग्रेडको तेल निर्यातका लागि बाहिर जान सक्ने शाहले बताए। तर ट्यांकरहरूको अभाव र उच्च ढुवानी खर्चले त्यो निर्यात मागलाई असर गर्न सक्ने उनले थपे।

भोर्टेक्साका वरिष्ठ विश्लेषक रोहित राठोडका अनुसार अप्रिल र मे महिनामा कच्चा तेल उठाउनका लागि बुधबारसम्म करिब ८० वटा खाली सुपरट्यांकरहरू मेक्सिको खाडीतर्फ लागेका थिए। 


प्रकाशित : बिहीबार , वैशाख ३ २०८३११:२५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend