काठमाडौं- पश्चिम एसियामा जारी द्वन्द्व समाधानका लागि कूटनीतिक प्रयास तीव्र भइरहेका बेला अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य उच्च स्तरमै कायम रहेको छ।
अमेरिका र इरानबीच युद्धविराम लम्ब्याउने सम्भावनाका बीच बजार केही स्थिर देखिए पनि मूल्य ९० डलरमाथि टिकिरहनुले अनिश्चितता अझै कायमै रहेको संकेत गरेको छ।
अन्तर्राष्ट्रिय बजारमा डब्लुटिआई क्रूड करिब ९१ डलर प्रति ब्यारेल र ब्रेन्ट क्रूड करिब ९५ डलर आसपास कायम छ। एशियाली कारोबार सत्रमा पछिल्ला दिनहरूमा उल्लेख्य उतारचढाव नदेखिए पनि बजारको मनोविज्ञान पूर्णरूपमा स्थिर हुन सकेको छैन।
संयुक्त राज्य अमेरिका र इरान बीच दुई साताको अस्थायी युद्धविराम थप लम्ब्याएर वार्ता अघि बढाउनेबारे छलफल भइरहेको छ। यद्यपि औपचारिक सहमति नभएकाले लगानीकर्ताहरू ‘पर्ख र हेर’ अवस्थामै रहेका छन्। विगतमा पनि यस्ता वार्ताहरू पटक-पटक अवरुद्ध भएको अनुभवले बजारलाई अझ सतर्क बनाएको छ।
यसबीच विश्वकै प्रमुख तेल आपूर्ति मार्ग हर्मुज जलडमरूमध्य मा सम्भावित अवरोधको जोखिमले बजारमा थप चिन्ता बढाएको छ। यो मार्गबाट विश्वको ठूलो परिमाणमा तेल आपूर्ति हुने भएकाले कुनै पनि अवरोधले मूल्यमा तत्काल प्रभाव पार्ने गर्छ।
अमेरिकामा कच्चा तेलको भण्डारण घट्नुका साथै पेट्रोलियम पदार्थको निर्यात उच्च विन्दुमा पुगेको छ। विशेषगरी एशियाली बजारबाट माग बढ्दा आपूर्ति-माग सन्तुलनमा दबाब परेको छ, जसले मूल्यलाई माथिल्लो तहमा टिकाइराखेको देखिन्छ।