काठमाडौं- स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्दै आज विभिन्न कार्यक्रमका साथ अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाइँदैछ। यो दिवस यस वर्षदेखि नेपालकै पहलमा विश्वभर मनाउन सुरु गरिएको हो।
समग्र स्वास्थ्य, सुख र सन्तुलित जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यसहित संयुक्त राष्ट्रसङ्घ को महासभाले अप्रिल १५ लाई अन्तर्राष्ट्रिय आरोग्य दिवसका रूपमा घोषणा गरेको हो। नेपालले हरेक वर्ष यो दिवस मनाउन गरेको प्रस्ताव गत फागुन २६ गते महासभाबाट अनुमोदन भएपछि यस वर्षदेखि औपचारिक रूपमा विश्वव्यापी रूपमा मनाउन थालिएको हो।
दिवसको मूल लक्ष्य सस्तो, सुलभ र समावेशी स्वास्थ्य अभ्यासलाई प्रोत्साहन गर्नु हो। रोग लागेपछि उपचार गर्नेभन्दा रोग नै लाग्न नदिने निवारणमुखी स्वास्थ्य प्रणाली, स्वस्थ जीवनशैली र मानिस-केन्द्रित स्वास्थ्य सेवामार्फत जीवन रक्षा, स्वास्थ्य खर्च न्यूनीकरण तथा रोकथामयोग्य रोग नियन्त्रणमा योगदान पुग्ने विश्वास गरिएको छ।
संयुक्त राष्ट्रसंघ अनुसार आदिवासी जनजाति तथा स्थानीय समुदायका परम्परागत ज्ञान र संस्कृतिको महत्वलाई समेत स्वीकार गर्दै प्रमाणमा आधारित परम्परागत चिकित्सापद्धतिले स्वास्थ्य प्रणाली सुदृढ बनाउन भूमिका खेल्ने उल्लेख गरिएको छ।
यस दिवसले विश्वभर जनचेतना अभिवृद्धि, सांस्कृतिक आदानप्रदान र ज्ञान साझेदारीका लागि साझा मञ्च प्रदान गर्ने अपेक्षा गरिएको छ। विभिन्न देशमा यस अवसरमा सचेतनामूलक कार्यक्रमहरू भइरहेका छन्।
संयुक्त राष्ट्रसंघले हरेक व्यक्तिको स्वास्थ्य, खुशी र समग्र कल्याणलाई जोड दिँदै यसअघि मनाइने अन्तर्राष्ट्रिय खुसी दिवस (मार्च २०), अन्तरराष्ट्रिय योग दिवस (जुन २१) र विश्व ध्यान दिवस (डिसेम्बर २१) जस्ता दिवसहरूले पनि आरोग्य प्रवर्द्धनमा पूरक भूमिका खेल्ने जनाएको छ।
दिगो विकास लक्ष्यअन्तर्गत स्वास्थ्यसम्बन्धी तेस्रो लक्ष्यले सबै उमेर समूहका मानिसका लागि स्वस्थ जीवन सुनिश्चित गर्ने उद्देश्य राखेको छ। मातृ तथा शिशु स्वास्थ्य सुधार, सरुवा तथा नसर्ने रोग नियन्त्रण, आवश्यक औषधि र खोपमा पहुँच, मानसिक स्वास्थ्य प्रवर्द्धन तथा स्वास्थ्य असमानता न्यूनीकरण यसका प्रमुख प्राथमिकतामा पर्दछन्।