सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

आजदेखि देशभर दोस्रो आर्थिक गणना सुरु

बुधबार, वैशाख २ २०८३
आजदेखि देशभर दोस्रो आर्थिक गणना सुरु

मुलुकको समग्र आर्थिक गतिविधिको यथार्थ चित्र संकलन गर्ने उद्देश्यसहित आजदेखि देशभर दोस्रो आर्थिक गणना सुरु भएको छ। राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार गणक तथा सुपरीवेक्षकहरू सम्बन्धित क्षेत्रमा खटिइसकेका छन्।

काठमाडौं- मुलुकको समग्र आर्थिक गतिविधिको यथार्थ चित्र संकलन गर्ने उद्देश्यसहित आजदेखि देशभर दोस्रो आर्थिक गणना सुरु भएको छ। राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार गणक तथा सुपरीवेक्षकहरू सम्बन्धित क्षेत्रमा खटिइसकेका छन्।

निर्धारित कार्यतालिकाअनुसार स्थलगत तथ्यांक संकलनको कार्य आगामी असारको पहिलो साताभित्र सम्पन्न गरिनेछ। गणनाका लागि करिब पाँच हजार जनशक्ति परिचालन गरिएको जनाइएको छ।

अर्थ मन्त्रालय ले औद्योगिक तथा समग्र आर्थिक क्षेत्रसँग सम्बन्धित विस्तृत तथ्यांक संकलन हुने भएकाले यस अभियानमा सबै पक्षको सहयोग आवश्यक रहेको जनाएको छ। गणनाअन्तर्गत उद्योग, व्यवसाय, सेवा क्षेत्र, सहकारी, निजी तथा सार्वजनिक संस्थाहरूको संख्या, प्रकार, लगानी, रोजगारी, उत्पादन र सेवा प्रवाहलगायत १८ वटा आर्थिक क्षेत्रका आधारभूत विवरण संकलन गरिनेछ।

यसक्रममा देशभर दर्ता भएका तथा नभएका साना-ठूला व्यापारिक प्रतिष्ठान, रोजगारी सिर्जना गर्ने तथा स्वरोजगारमा आधारित व्यवसाय, उद्योग, कलकारखाना, गैरसरकारी संस्था, सरकारी निकाय, विद्यालय, अस्पताललगायतका संस्थाहरूको गणना गरिनेछ। आर्थिक गणनाको पूर्वतयारीका कार्य गत फागुन मसान्तमै सम्पन्न भइसकेका छन्। चैतको सुरुवातदेखि ७७ जिल्लासहित थप सात गरी कुल ८४ वटा कार्यालय स्थापना गरिएको छ, जसले आगामी असार मसान्तसम्म कार्य सञ्चालन गर्नेछन्।

यसअघि विसं २०७५ मा गरिएको पहिलो राष्ट्रिय आर्थिक गणनामा देशभर नौ लाख २३ हजार ३५६ प्रतिष्ठान तथा व्यवसाय सञ्चालनमा रहेको तथ्यांक सार्वजनिक गरिएको थियो।


प्रकाशित : बुधबार, वैशाख २ २०८३१०:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend