बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

पाँचपोखरीमा प्राथमिकता : पर्यटन, शिक्षा र स्वास्थ्य

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, चैत ९ २०७८
पाँचपोखरीमा प्राथमिकता : पर्यटन, शिक्षा र स्वास्थ्य

भूकम्पपछिको पुनःनिर्माण, आवास, स्वास्थ्य, शिक्षा, सेवा प्रदायक संस्थाको भवन निर्माण, विद्युत् प्रसारण लाइनको काम भइरहेको छ।

सिन्धुपाल्चोक- भ्रमण वर्ष मनाउन छानिएका १०० पर्यटकीय गन्तव्यमध्ये पाँचपोखरी पनि एक हो। समुद्र सतहबाट करिब ४ हजार १ सय ५० मिटर उचाइमा अवस्थित पाँचपोखरीको प्राकृतिक सौन्दर्य मनमोहक छ। काठमाडौंबाट नजिकको सुन्दर गन्तव्य हो पाँचपोखरी।

सिन्धुपाल्चोकको पर्यटकीय क्षेत्रका रूपमा पाँचपोखरी थाङ्पाल गाउँपालिका परिचित छ। पाँचपोखरी नै चर्चित र रमणीय पर्यटकीय क्षेत्र भएकाले यो विशेष छ। यसैका नामबाट गाउँपालिकाको नाम राखिएको हो। जति सम्भावना छ, त्यति विकास भने हुनसकेको छैन। जिल्लाका १२ स्थानीय तहमध्येको पाँचपोखरी थाङ्पाल गाउँपालिका उच्च हिमाली दूरदराजमा पर्ने गाउँपालिका हो। यो गाउँपालिकामा २०७२ सालको भूकम्पले धेरै क्षति पुर्‍यायो। त्यो अवस्थाबाट जिम्मेवारी वहन गर्नुपरेकाले चुनौती रहेको गाउँपालिका अध्यक्ष टासी लामा बताउँछन्।

दोस्रो चुनौती स्थानीय तहमा जनशक्तिको अभाव हो। सबै ऐन, कानुनको अभाव, कोरोना महामारी, बाढीलगायतको सामाना गर्नुपरेकाले सबै काम पूरा हुन नसकेका लामा बताउँछन्। स्थानीय स्रोत साधनको प्रयोग गरी केही महत्वपूर्ण काम अघि बढाएको उनले बताए। भूकम्पपछिको पुनःनिर्माण, आवास, स्वास्थ्य, शिक्षा, सेवा प्रदायक संस्थाको भवन निर्माण, विद्युत् प्रसारण लाइनको काम गरिएको उनले बताए। 

सडकलाई मात्र महत्वपूर्ण नठानी शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि, पर्यटन र युवालक्षित कार्यक्रमलाई प्राथमिकतामा राखी अगाडि बढेको हुँदा अहिले नतिजा देखिन थालेको लामाले बताए। याङी र पाँचपोखरी पर्यटनमार्ग बनाइएको छ। यी दुवै कच्ची सडकको स्तरोन्नतिको काम हुँदैछ। पाँचपोखरी चक्रपथको विकास गरी तीव्ररूपमा स्तरोन्नतिको काम भइरहेको छ। 
 
गुणस्तरीय शिक्षामा जोड दिइएको गाउँपालिकाका विद्यालय निरीक्षक उत्तममणि पौडेल बताउँछन्। विसं २०७२ को भूकम्पले विद्यालयका भौतिक संरचना पूर्णरूपमा ध्वस्त बनाएकाले भूकम्प प्रतिरोधात्मक भवन भवन निर्माण सम्पन्न गरिएका छन्। विद्यालय ‘मर्ज’ गर्ने अभियानमा रहेको पौडेलले बताए। चार विद्यालय मर्ज गरी थाङ्पाल भ्याली विद्यालय नामाकरण गरी सञ्चालन गरिएको छ। 

पालिकाले विद्यालय करेसाबारीको कार्यक्रम अघि बढाएको छ। कक्ष १ देखि ८ सम्मको हाम्रो पाँचपोखरी पाठ्यक्रम र कक्षा १ देखि ३ सम्म मेरो पाँचपोखरी पाठ्यपुस्तक प्रकाशन गरी अध्यापन गराइँदै छ। मातृभाषा शिक्षाअन्तर्गत गुम्बा शिक्षाबारे ऐच्छिकरूपमा विद्यार्थीले अध्ययन गरिरहेका छन्। पाँच विद्यालयमा एक–एक विद्यालय नर्सको व्यवस्था गरिएको प्रमुख प्रसासकीय अधिकृत दिनेशकुमार पोखरेलले बताए।

आर्थिक समृद्धिका लागि गाउँपालिकालाई पर्यटनको हब बनाई पर्यटन व्यवसायलाई जनताको जीवनस्तरसँग जोड्ने काम भइरहेको छ। पाँचपोखरीसँगै आमा याङी, डाइग्रन गुफा, दूधपोखरी, पेमाछल उद्यान केन्द्र, रैथानेश्वरी, च्योज्यो डाँडा, हबेली नौलिङ्गेश्वरी, जुगल हिमशृङ्खला, दोर्जे ल्याक्पा हिमाल, युवा पिक, पाँचपोखरी पिक, तिलमानपासलगायत पर्यटकीय ठाउँको विकास भइरहेको छ। रक क्लाम्बिङ र प्याराग्लाइडिङको सफल परीक्षण गरिएको उपाध्यक्ष  सुनिता अधिकारीले बताए। रासस


प्रकाशित : बुधबार, चैत ९ २०७८०५:३४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend