बीरगंज- भारतको महावाणिज्य दूतावास बीरगंज को पहलमा बारा जिल्ला मा उच्च प्रभाव सामुदायिक विकास परियोजना अन्तर्गत विद्यालय तथा पुस्तकालय भवन निर्माणको शिलान्यास गरिएको छ।
मधेश प्रदेशअन्तर्गत प्रसौनी गाउँपालिका-२ स्थित श्री बेंगा साह माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा महावाणिज्यदूत देवी सहाय मीना र गाउँपालिकाका अध्यक्ष विनोद प्रसाद जैसवाल ले संयुक्त रूपमा शिलान्यास गरेका हुन्।
भारत सरकारको करिब ३३.२ मिलियन नेपाली रुपैयाँ बराबरको आर्थिक सहयोगमा निर्माण हुन लागेको उक्त परियोजनाअन्तर्गत आधुनिक सुविधासहितको शैक्षिक भवन निर्माण गरिनेछ। भवनमा कक्षा कोठा, पुस्तकालय, कम्प्युटर तथा विज्ञान प्रयोगशाला, क्यान्टिन र भान्छा जस्ता संरचना रहने जनाइएको छ।
उक्त आयोजना प्रसौनी गाउँपालिकामार्फत कार्यान्वयन हुने र यसलाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रूपमा अघि बढाइएको जनाइएको छ।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समिति तथा सरोकारवालाहरूले भारत सरकारको सहयोगप्रति आभार व्यक्त गर्दै नयाँ भवनले बालबालिकाका लागि सुरक्षित र अनुकूल शैक्षिक वातावरण निर्माण हुने विश्वास व्यक्त गरेका छन्।
नेपाल र भारतबीच छिमेकी तथा विकास साझेदारका रूपमा बहुआयामिक सहयोग रहँदै आएको सन्दर्भमा यस्ता परियोजनाले स्थानीय तहको विकास र पूर्वाधार विस्तारमा थप टेवा पुग्ने अपेक्षा गरिएको छ।