सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

सिंहदरबारमा इन्टरनेट सुधार गर्न सरकार सक्रिय

सोमबार, चैत ३० २०८२
सिंहदरबारमा इन्टरनेट सुधार गर्न सरकार सक्रिय

प्रशासनिक केन्द्रका रूपमा रहेको यस क्षेत्रमा प्रविधि पूर्वाधारलाई सुदृढ बनाउँदै सेवा थप भरपर्दो, द्रुत र अवरोधरहित बनाउन सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।

काठमाडौं- सिंहदरबारभित्र तथा वरपरका सरकारी निकायमा इन्टरनेट सेवाको गुणस्तर सुधार गर्न सरकार सक्रिय रूपमा अघि बढेको छ। प्रशासनिक केन्द्रका रूपमा रहेको यस क्षेत्रमा प्रविधि पूर्वाधारलाई सुदृढ बनाउँदै सेवा थप भरपर्दो, द्रुत र अवरोधरहित बनाउन सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।

एकीकृत डाटा व्यवस्थापन केन्द्रका प्रमुखसँगको छलफलमा मन्त्री तिमिल्सिनाले सबै सरकारी कार्यालयमा उच्चस्तरीय इन्टरनेट पहुँच सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन्। उनले सेवा अवरुद्ध हुन नदिन पूर्वतयारी, निरन्तर निगरानी र प्रभावकारी जोखिम व्यवस्थापन प्रणालीलाई मजबुत बनाउन निर्देशन दिएका छन्।

मन्त्री तिमिल्सिनाले प्राविधिक तथा मानवीय कमजोरीका कारण सेवा अवरुद्ध हुने अवस्था अन्त्य गर्न दक्ष जनशक्ति परिचालनमा जोड दिँदै नेपाल टेलिकममार्फत तत्काल समस्या समाधान गर्न सक्ने प्राविधिक टोली खटाउन निर्देशन दिएका छन्।

छलफलका क्रममा एकीकृत डाटा व्यवस्थापन केन्द्रका प्रमुख मनिष भट्टराईले केही कार्यालयमा इन्टरनेट सुस्त हुने तथा कहिलेकाहीँ सेवा अवरोध हुने समस्या रहेको जानकारी दिए। उनले यस्ता समस्या समाधानका लागि प्राविधिक सुधारका काम अघि बढाइएको बताए।

उनका अनुसार सिंहदरबारभित्र हाल नेपाल टेलिकममार्फत १ जिबिपिएस क्षमताको ब्रोडब्यान्ड सेवा सञ्चालनमा छ भने ‘जी-क्लाउड’का लागि थप २५० एमबिपिएस इन्टरनेट प्रयोग भइरहेको छ। अप्टिकल फाइबरमा हुने क्षति, विशेषगरी सडक तथा भौतिक पूर्वाधार निर्माणका क्रममा हुने अवरोधले सेवा प्रभावित हुने गरेको उनले बताए। दीर्घकालीन समाधानका लागि फाइबरलाई भूमिगत रूपमा सुरक्षित गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छ।

भट्टराईले पहिले वैकल्पिक प्रणालीमार्फत सेवा निरन्तरता दिने ‘इन्टरनेट रिङ’ व्यवस्था प्रभावकारी रहेको भए पनि हाल कमजोर बन्दै गएको बताए। त्यसलाई पुनः सुदृढ बनाउने तयारी भइरहेको उनले जानकारी दिए।



प्रकाशित : सोमबार, चैत ३० २०८२११:०६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend