काठमाडौं- संयुक्त राज्य अमेरिकाले इरानका बन्दरगाहहरूमा नाकाबन्दी सुरु गर्ने घोषणा गरेको छ। जससँगै पश्चिम एसियामा तनाव थप चर्किएको छ। अमेरिकी सेनाका अनुसार सोमबार नेपाली समयअनुसार साँझदेखि उक्त नाकाबन्दी लागु हुने छ।
अमेरिकी पक्षले हर्मुज जलडमरूमध्य हुँदै अन्य देशतर्फ आउने-जाने जहाजहरूको आवागमन अवरोध नगर्ने जनाएको छ। तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत होर्मुज जलमार्गमध्यमा प्रवेश वा बाहिरिने सबै जहाजहरूलाई नियन्त्रणमा लिने चेतावनी दिएका छन्।
यस घटनाक्रमसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य पुनः प्रतिव्यारेल १०० अमेरिकी डलरमाथि पुगेको छ। विश्वभर ओसारपसार हुने कुल पेट्रोलियम पदार्थको करिब २० प्रतिशत यही जलमार्गबाट गुज्रिने भएकाले त्यहाँको तनावले विश्व ऊर्जा बजारमा प्रत्यक्ष असर पारेको विश्लेषण गरिएको छ।
यता इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्सले उक्त क्षेत्रमा नजिकिने कुनै पनि सैन्य जहाजलाई कडा जवाफ दिइने चेतावनी दिएको छ। इरानी संसद्का सभामुख मोहम्मद बाघेर घालिबाफले इरानले कुनै पनि धम्कीका आधारमा आत्मसमर्पण नगर्ने स्पष्ट पारेका छन्।
यसैबीच ट्रम्पले पाकिस्तानमा भएको अमेरिका-इरान प्रत्यक्ष वार्ता असफल हुनुको कारण इरान आफ्नो आणविक महत्वाकांक्षा त्याग्न तयार नभएको बताएका छन्। तर इरानले भने दुवै पक्ष सम्झौताबाट निकै नजिक पुगेको दाबी गर्दै अमेरिकाले अत्यधिक माग राखेको र बारम्बार सर्त परिवर्तन गरेको आरोप लगाएको छ।
अमेरिकी नाकाबन्दीको घोषणाले पश्चिम एसियामा प्रत्यक्ष सैन्य टकरावको जोखिम बढाएको छ। साथै यसको प्रभाव विश्व व्यापार, ऊर्जा आपूर्ति र समग्र अर्थतन्त्रमा पर्ने सम्भावना उच्च रहेको बताइएको छ।