काठमाडौं- चन्द्रागिरि इन्भेष्टमेन्ट ग्रुप लिमिटेड ले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। कम्पनीको शनिबार सम्पन्न पहिलो वार्षिक साधारणसभाले १० करोड रुपैयाँ बराबरको १० लाख कित्ता सेयर सर्वसाधारणमा जारी गर्ने प्रस्ताव पारित गरेको हो।
कम्पनीको अधिकृत पूँजी ५० करोड रुपैयाँ रहेको छ। साधारणसभाले चुक्ता पूँजीको ४ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्तावसमेत अनुमोदन गरेको छ।
साधारणसभाबाट कम्पनीको सञ्चालक समिति पनि निर्विरोध चयन भएको छ। निर्वाचित हुने सञ्चालकहरूमा राजन श्रेष्ठ, रामराजा आचार्य, प्रकाशमान श्रेष्ठ, धिरेन्द्र श्रेष्ठ, शंकर महर्जन र बीरेन्द्र श्रेष्ठ रहेका छन्।
साधारणसभाले अध्यक्ष राजन श्रेष्ठ द्वारा प्रस्तुत वार्षिक प्रतिवेदन तथा लेखापरीक्षकको प्रतिवेदन पनि पारित गरेको छ।
होल्डिङ कम्पनीका रूपमा सञ्चालनमा रहेको चन्द्रागिरि इन्भेष्टमेन्ट ग्रुप लिमिटेड ले इन्द्रेणी मस्रुम फार्म, द निलय होटल्स लिमिटेड, काउले भाइनियार्ड एग्रो, एभरेष्ट कलर तथा मेरो किसानलगायतका विभिन्न कम्पनीहरूमा लगानी गर्दै आएको अध्यक्ष श्रेष्ठले जानकारी दिएका छन्।