सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

चीनले इरानलाई हवाई रक्षा प्रणाली दिन तयारी गरेको अमेरिकी गुप्तचरको दाबी

आइतबार, चैत २९ २०८२
चीनले इरानलाई हवाई रक्षा प्रणाली दिन तयारी गरेको अमेरिकी गुप्तचरको दाबी

गुप्तचर स्रोतलाई उद्धृत गर्दै जनाएअनुसार बेइजिङले आगामी केही साताभित्र काँधबाट प्रक्षेपण गर्न मिल्ने ‘म्यानप्याड्स’ नामक हवाई प्रतिरक्षा प्रणाली इरानलाई उपलब्ध गराउने तयारी गरेको देखिएको छ।

काठमाडौं- पाकिस्तानको इस्लामाबादमा हालै सम्पन्न अमेरिका-इरान शान्ति वार्ता निष्कर्षविहीन बनेको पृष्ठभूमिमा चीनले इरानलाई नयाँ हवाई रक्षा प्रणाली आपूर्ति गर्ने तयारी गरिरहेको अमेरिकी गुप्तचर निकायको मूल्यांकल रहेको सीएनएनले जनाएको छ।

गुप्तचर स्रोतलाई उद्धृत गर्दै जनाएअनुसार बेइजिङले आगामी केही साताभित्र काँधबाट प्रक्षेपण गर्न मिल्ने ‘म्यानप्याड्स’ नामक हवाई प्रतिरक्षा प्रणाली इरानलाई उपलब्ध गराउने तयारी गरेको देखिएको छ। ती हतियारहरू तेस्रो देशमार्फत पठाएर स्रोत लुकाउने प्रयास भइरहेको संकेतसमेत देखिएको बताइएको छ।

यस्ता हतियारले कम उचाइमा उड्ने अमेरिकी सैन्य विमानहरूलाई युद्धका क्रममा जोखिममा पार्न सक्ने भएकाले यो कदमलाई अत्यन्त उत्तेजक मानिएको छ।

यस विषयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनलाई कडा चेतावनी दिँदै यदि इरानलाई हतियार आपूर्ति गरियो भने चीनले 'ठूला समस्याहरू' भोग्नुपर्ने बताएका छन्। उनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग यसबारे कुरा भएको वा नभएको भने खुलाएका छैनन्।

अनुसार वाशिङ्टनस्थित चिनियाँ दूतावासले यी आरोप अस्वीकार गरेको छ। दूतावासले चीनले कुनै पनि युद्धरत पक्षलाई हतियार नदिएको दाबी गर्दै अमेरिकाले आधारहीन आरोप लगाइरहेको र तनाव बढाउने प्रयास गरिरहेको जनाएको छ।

सीएनएनको रिपोर्टमा भनिएको छ कि चीनले हालसम्म मध्यपूर्वमा युद्धविराम कायम गर्न र द्वन्द्व अन्त्य गर्न सहयोग गरिरहेको दाबी गर्दै आएको छ। दूतावासका प्रवक्ताले चीनले अन्तरराष्ट्रिय दायित्व पूरा गरिरहेको र शान्ति स्थापनामा भूमिका खेलिरहेको बताएका छन्।

अमेरिकी गुप्तचर मूल्यांकनले चीनले तेस्रो देशमार्फत आपूर्ति ढाकछोप गर्न सक्ने सम्भावनासमेत देखाएको छ।

विश्लेषकहरूका अनुसार चीनले इरानसँग प्रत्यक्ष रूपमा हतियार आपूर्ति गरेमा त्यसले अमेरिका-चीन सम्बन्ध र क्षेत्रीय शक्ति सन्तुलनमा गम्भीर प्रभाव पार्न सक्छ।

सीएनएनले उल्लेख गरेअनुसार इरान र इजरायलबीचको युद्धविरामपछि पनि इरानले आफ्नो सैन्य क्षमतालाई पुनः सुदृढ गर्न विदेशी साझेदारहरूको सहयोग लिइरहेको संकेत देखिएको छ।

विशेषज्ञहरूका अनुसार चीन इरानसँग ऊर्जा व्यापारमा गहिरो रूपमा निर्भर रहेकाले उसले खुला रूपमा युद्धमा प्रवेश नगरी रणनीतिक सन्तुलन कायम गर्न खोजिरहेको देखिन्छ।

हाल पश्चिम एसियामा औपचारिक युद्धविराम कायम भए पनि हतियार आपूर्ति सम्बन्धी नयाँ आशंकाले पुनः तनाव चर्किन सक्ने जोखिम बढेको विश्लेषण गरिएको छ।


प्रकाशित : आइतबार, चैत २९ २०८२११:२९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend