काठमाडौं- पाकिस्तानको मध्यस्थतामा संयुक्त राज्य अमेरिका र इरानबीच भएको उच्चस्तरीय शान्ति वार्ता कुनै ठोस सहमतिबिना टुंगिएको छ। पाकिस्तानको राजधानी इस्लामाबादमा करिब २१ घण्टासम्म निरन्तर चलेको वार्तापछि अमेरिकी उपराष्ट्रपति जेडी भान्सले आइतवार दुवै पक्षबीच सहमति हुन नसकेको जानकारी दिएका हुन्।
पत्रकार सम्मेलनमा बोल्दै उनले अमेरिकाले आफ्ना धारणा स्पष्ट रूपमा प्रस्तुत गरेको तर ती सर्तहरूमा इरान सहमत नभएको बताएका छन्। उनका अनुसार अमेरिकाले इरानसँग उसले भविष्यमा कुनै पनि परमाणु हतियार विकास नगर्ने स्पष्ट र दीर्घकालीन प्रतिबद्धता माग गरेको थियो। सन् १९७९ को इस्लामिक क्रान्तिपछि भएका उच्चस्तरीय संवादहरूमा यस्तो भरोसालायक प्रतिबद्धता नदेखिएको आरोप अमेरिकाले लगाउँदै आएको उनले उल्लेख गरे।
यद्यपि, उनले वार्ता पूर्ण रूपमा समाप्त नभएको संकेत दिँदै इरानलाई अमेरिकी प्रस्तावमाथि पुनर्विचार गर्ने समय दिइएको बताएका छन्। 'aहामीले सरल प्रस्ताव राखेका छौं-यो हाम्रो अन्तिम र सबैभन्दा राम्रो प्रस्ताव हो। इरानले यसलाई स्वीकार गर्छ कि गर्दैन, हेर्न बाँकी छ,' भान्सले भने।
इरानी पक्षले भने अमेरिकामाथि 'अत्यधिक शर्त' थोपरेको आरोप लगाएको छ। इरानको विदेश मन्त्रालयले वार्तालाई 'गहन' भन्दै वासिङ्टनलाई 'गैरकानुनी र अत्यधिक माग' नगर्न आग्रह गरेको छ। दुवै पक्ष कडा अडानका साथ वार्तामा प्रस्तुत भएका कारण सहमति नजिक पुग्न नसकिएको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
वार्तासँगै सामरिक रूपमा अत्यन्त महत्वपूर्ण मानिने होर्मुज जलडमरूमध्य पनि तनावको केन्द्र बनेको छ। विश्वभर ओसारपसार हुने कुल पेट्रोलियम पदार्थको करिब २० प्रतिशत यही मार्गबाट गुज्रिने भएकाले यसको सुरक्षा अन्तर्राष्ट्रिय चासोको विषय बनेको छ। अमेरिकाले उक्त क्षेत्रमा समुद्री बारुद हटाउन युद्धपोत र पनडुब्बी परिचालन गरेको दाबी गर्दै इरानमाथि दबाब बढाएको जनाइएको छ, यद्यपि इरानले यस्तो गतिविधिलाई अस्वीकार गरेको छ।
यसैबीच, गएको मंगलबार अमेरिकाले इरानमाथि जारी आक्रमण दुई साताका लागि स्थगित गर्ने घोषणा गरेको थियो। फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि इरानले प्रतिकार गरेको थियो, जसले पश्चिम एशियालाई व्यापक द्वन्द्वतर्फ धकेलेको छ। यस घटनाक्रमले ऊर्जा आपूर्ति, व्यापार र मुद्रास्फीतिमार्फत विश्व अर्थतन्त्रमा समेत असर पारेको विश्लेषण गरिएको छ।
यता, इजरायलले लेबनानमा हिजबुल्लाहविरुद्ध आक्रमण जारी राखेको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले लेबनानसँग 'दिगो शान्ति सम्झौता' चाहेको बताए पनि इरानविरुद्धको सैन्य अभियान अझै समाप्त नभएको स्पष्ट पारेका छन्।
इस्लामाबादमा भएको वार्ता निष्कर्षविहीन टुंगिएसँगै मध्यपूर्वमा तत्काल शान्ति कायम हुने सम्भावना कमजोर देखिएको छ। कूटनीतिक प्रयास जारी रहे पनि गहिरा अविश्वास र कडा अडानका कारण समाधानको बाटो अझै जटिल बनेको विश्लेषण गरिएको छ।