सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

आइतबार ‘ओपीडी’ सञ्चालन गर्न सकिँदैन : चिकित्सक संघ

शनिबार, चैत २८ २०८२
आइतबार ‘ओपीडी’ सञ्चालन गर्न सकिँदैन : चिकित्सक संघ

सो निर्देशन प्राप्त भएपछि संघले एक विज्ञप्ती जारी गर्दै पर्याप्त जनशक्ति अभाव र बढ्दो कार्यभारका कारण उक्त निर्देशन कार्यान्वयन गर्न कठिनाइ हुने भएकाले आइतबार बहिरंग सेवा सञ्चालन गर्न सम्भव नभएको जनाएको हो।

काठमाडौं- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतबार पनि बहिरंग (ओपीडी) सेवा सञ्चालन गर्न निर्देशन दिएपछि नेपाल चिकित्सक संघले गम्भीर ध्यानाकर्षण भएको बताउँदै सो निर्णयमा पुनर्विचार गर्न माग गरेको छ।

सरकारले शनिबार र आइतबार दुई दिन बिदा गर्ने व्यवस्था लागु गरेपछि स्वास्थ्य सेवा प्रभावित नबनोस् भन्ने उद्देश्यले स्वास्थ्य मन्त्रालयले अस्पतालहरुलाई आइतबार पनि बहिरंग सेवा सञ्चालन गर्न आग्रह गरेको थियो। अस्पतालहरूले आफ्नो कार्यभार हेरी बहिरंग सेवा सञ्चालन गर्न र सट्टा बिदा मिलाएर भए पनि सेवा प्रवाह गर्न मन्त्रालयले निर्देशन दिएको थियो।

सो निर्देशन प्राप्त भएपछि संघले एक विज्ञप्ती जारी गर्दै पर्याप्त जनशक्ति अभाव र बढ्दो कार्यभारका कारण उक्त निर्देशन कार्यान्वयन गर्न कठिनाइ हुने भएकाले आइतबार बहिरंग सेवा सञ्चालन गर्न सम्भव नभएको जनाएको हो।

चिकित्सक तथा स्वास्थ्यकर्मीले ९-५ बाहेक ‘अनकल’, ‘राउन्ड’ तथा आकस्मिकलगायत २४सै घण्टा सेवा प्रदान गरिरहेको अवस्थामा उक्त समय गणना नहुनु अन्यायपूर्ण रहेको संघले जनाएको छ। पर्याप्त जनशक्ति व्यवस्थापन नभएसम्म मन्त्रालयको उक्त निर्देशन कार्यान्वयन गर्न नसकिने संघको ठहर छ।

यसैबीच विभिन्न अस्पताल तथा प्रतिष्ठानले फरक फरक सूचना जारी गरेका छन्। त्रिवि शिक्षण अस्पताल, मनमोहन कार्डियो थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लगायतले आकस्मिक बाहेक आइतबार बहिरंग सेवा पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेका छन्। उता राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, भरतपुर अस्पतालले भने आइतबार पनि सेवा सञ्चालन गर्ने जनाएका छन्।

संघले विभिन्न स्वास्थ्य संस्थामा फरक फरक दिन बिदा दिँदा अस्पतालहरुले दिने बिदामा एकरुपता नहुने र स्वास्थ्य सेवा लिने बिरामीहरु अन्योलमा पर्ने भएकाले स्वास्थ्य सेवा प्रवाहमा गम्भीर असर पुग्ने जनाएको छ। संघले ज्यादै न्यून सेवा सुविधा दिइ जबरजस्ती सेवामा खटाउने परिपाटी अन्त्य नभए चिकित्सक तथा स्वास्थ्यकर्मी संघर्षमा उत्रिन बाध्य हुने भन्दै चेतावनी दिएको छ। रासस


प्रकाशित : शनिबार, चैत २८ २०८२१७:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend