सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

अमेरिका-इरान शान्तिवार्ता : पाकिस्तानको मध्यस्थतामा संवादको नयाँ अध्याय

शनिबार, चैत २८ २०८२
अमेरिका-इरान शान्तिवार्ता : पाकिस्तानको मध्यस्थतामा संवादको नयाँ अध्याय

पश्चिम एसियामा लामो समयदेखि जारी तनावबीच संयुक्त राज्य अमेरिका र इरान शान्तिवार्तामा बस्न सहमत भएका छन्। पाकिस्तान को मध्यस्थतामा भएको यस सहमतिपछि क्षेत्रीय द्वन्द्व अस्थायी रूपमा मत्थर भएको संकेत देखिएको छ।

काठमाडौं- पश्चिम एसियामा लामो समयदेखि जारी तनावबीच संयुक्त राज्य अमेरिका र इरान शान्तिवार्तामा बस्न सहमत भएका छन्।

पाकिस्तानको मध्यस्थतामा भएको यस सहमतिपछि क्षेत्रीय द्वन्द्व अस्थायी रूपमा मत्थर भएको संकेत देखिएको छ। आज दुवै देशका उच्चस्तरीय प्रतिनिधिमण्डलहरू पाकिस्तानको राजधानी इस्लामाबाद मा औपचारिक वार्तामा जुट्दैछन्।

शान्तिवार्ताका लागि अमेरिकी टोलीको नेतृत्व उपराष्ट्रपति जेडी भान्स ले गरिरहेका छन्। उनलाई डोनाल्ड ट्रम्पले वार्ताको जिम्मेवारी सुम्पिएका हुन्। भान्स नेतृत्वको प्रतिनिधिमण्डल आज इस्लामाबाद पुगेको हो। उनी सवार ‘एयर फोर्स टु’ विमान केही घण्टाअघि अवतरण भएको पुष्टि गरिएको छ।

अमेरिकी टोलीमा ट्रम्पका विशेष दूत स्टिभ विटकफ र ट्रम्पका ज्वाइँ जारेड कुसनर पनि सहभागी छन्। उनीहरूले वार्तालाई सफल बनाउन कूटनीतिक तयारी अघि बढाउने अपेक्षा गरिएको छ।

अमेरिकी प्रतिनिधिमण्डललाई विमानस्थलमा पाकिस्तानका उपप्रधान तथा विदेशमन्त्री मोहम्मद इशहाक डार र सेना प्रमुख आसिम मुनीरले स्वागत गरेका थिए। यसले पाकिस्तानले मध्यस्थकर्ताको भूमिकालाई उच्च प्राथमिकताका साथ लिएको संकेत गर्छ।

उता इरानका तर्फबाट वार्ताको नेतृत्व संसद्का अध्यक्ष मोहम्मद बगर गालिबाफले गर्नेछन्। उनी पनि इस्लामाबाद पुगिसकेका छन् र वार्ताको प्रारम्भिक चरणका लागि तयारीमा जुटेका छन्।

यस वार्तालाई पश्चिम एसियाको स्थायित्वका लागि महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ। यद्यपि, विगतका अनुभवले देखाएझैं, यस्तो उच्चस्तरीय संवाद सफल हुन दुवै पक्षको लचकता, विश्वास निर्माण र दीर्घकालीन प्रतिबद्धता आवश्यक पर्नेछ। अहिलेको सहमति अस्थायी शान्तितर्फको संकेत मात्र भए पनि, यसले दीर्घकालीन समाधानको ढोका खोल्ने अपेक्षा गरिएको छ।


प्रकाशित : शनिबार, चैत २८ २०८२१५:४४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend