शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

१० सुरुङ मार्ग निर्माणको लागि सम्भाव्यता अध्ययन गर्दै सरकार

बुधबार, चैत ९ २०७८
१० सुरुङ मार्ग निर्माणको लागि सम्भाव्यता अध्ययन गर्दै सरकार

काठमाडौं- सरकारले सुरुङ मार्ग निर्माणको कामलाई तीब्रता दिएको छ। सडक विभाग अन्तर्गतको गुणस्तर तथा अनुसन्धान विकास केन्द्रले देशभर सुरुङ मार्ग निर्माणको सम्भाव्यता अध्ययनको काम धमाधम अगाडि बढाएको छ।  

केन्द्रले चैत ८ गते मात्रै दुई नयाँ सुरुङ मार्ग बनाउनका लागि सम्भाव्यता अध्ययन गर्न परामर्शदाता छनोटको प्रक्रिया अघि बढाएको छ। केन्द्रले कास्कीको हेम्जादेखि नयाँपुलसम्म र नवलपुरको दुम्कीबासदेखि बर्दघाटसम्म सुरुङ मार्ग निमार्णको सम्भाव्यता अध्ययन गर्न इच्छुक कम्पनीले चैत २३ गतेसम्म प्रस्ताव पेश गर्न सक्ने गरी सूचना प्रकाशन गरेको हो। सम्भाव्यता अध्ययन गर्न ३ वटा कम्पनीसम्मले संयुक्त उपक्रममा सहभागी हुन पाउने गरी सूचना प्रकाशन गरेको छ। 

यसैगरी केही दिन अगाडि पनि सडक विभाग अन्तर्गतको गुणस्तर तथा अनुसन्धान विकास केन्द्रले चितवनको शक्तिखोर-मझिमटार र इलामको सुनमाइ राजदुवालीमा सडक सुरुङ बनाउनका लागि परामर्शदाता छनोटका लागि सूचना प्रकाशित गरेको थियो। 

केन्द्रले चैत ४ गते शुक्रबार दुई सडक सुरुङ निर्माणका लागि परामर्शदाता छनोटका गर्न इच्छुक कम्पनीसँग आसय माग गरेको थियो। परामर्शका लागि इच्छुक कम्पनीहरूले चैत २० गतेभित्र आयस पेश गर्नु पर्नेछ।

यसैगरी विभाग अन्तर्गतको केन्द्रले बबई-छिन्चु सुरुङमार्ग सम्भाव्यता अध्ययनका लागि ६ कम्पनी छनोट गरिसकेको छ। केन्द्रले बबई-छिन्चु सडक सुरुङ मार्ग निर्माणका लागि आवश्यक विस्तृत सम्भाव्यता अध्ययन गर्न ६ वटा कम्पनीलाई सर्टलिस्ट गरिसकेको छ।

केन्द्रले सुर्खेत सडकखण्डमा पर्ने सुरुङ मार्गको विस्तृत सम्भाव्यता अध्ययनका लागि गरेको टेन्डरबाट ६ वटा कम्पनीलाई सर्टलिस्ट गरेको हो।

केन्द्रले इएमआर सी-एसएलएटी जेभी पाकिस्तान, जेईसी-युनिट्स-इपीसेन्टर जेभी, एचसीई-सखुवा-ग्रान्ड जेभी, आइटीइसीओ-टीएमएस-आरएवाईएस जेभी, सिल्ट-बीडीए-क्वोस्ट जेभी र सितारा-ईएमआई-इन्जिनियरिङ घर लाई सर्ट लिस्ट गरेको हो। केन्द्रले सर्टलिस्ट गरेको कम्पनीसँग आशय पत्रसमेत मागिसकेको छ।

यसैगरी केन्द्रले फागुन १ गतेमात्रै सिद्धबाबा सुरुङमार्ग निर्माणको ठेक्का चिनियाँ ठेकेदार कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कम्पनी दिएको थियो। सिद्धार्थ राजमार्गको पहिरोग्रस्त सिद्धबाबा क्षेत्रमा सुरुङमार्ग निर्माणका लागि गत जेठ ९ गते ग्लोबल टेन्डर आह्वान भएको थियो।

सडक विभागका अनुसार सिद्धबाबाको सुरुङमार्ग निर्माणका लागि भएको ठेक्कामा चाइना स्टेट कन्स्ट्रक्सनले ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँ कबोल गरेको छ। 

यसैगरी विभाग अन्तर्गतको केन्द्रले पुस १५ गते बिहीबार पाँच स्थानमा सुरुङ मार्ग निर्माणको सम्भाव्यता अध्ययन गर्न परामर्शदाता छनोटका लागि आसय माग गरेको थियो।

केन्द्र बागलुङको बागलुङ-बिउँ-नरेठाँटी रोड टनेल, फुस्रेखोला-छोरेपाटन-स्याङजा-गुडिगोला रोड टनेल, रारा राजमार्गअन्तर्गत कुशेपाटन-जाजरकोट-जुम्ला रोड टनेल निर्माणको सम्भाव्यता अध्ययन गर्न लागेको हो।

त्यस्तै प्रवास-जोर्ते (पाल्पा) रोड टनेल र ताथली-राबियोपी रोड टनेल (भक्तपुर-सिन्धुपाल्चोक) बनाउनसमेत सम्भाव्यता अध्ययन हुन लागेको हो।  सडक विभागले यी सुरुङ मार्ग निर्माणको सम्भाव्यता अध्ययन गर्न एक्सप्रेसन अफ इन्ट्रेस्ट -ईओआई माग गरिसकेको छ। 

घुमाउरो र जटिल प्रकृतिका सडकमा सहज यात्राका लागि सुरुङ मार्ग निर्माण गर्ने नीति सरकारले लिएको छ। सरकारले वार्षिक नीति तथा कार्यक्रम र बजेटमा समेत सुरुङ मार्ग निर्माणलाई प्राथमिता दिँदै आएको छ। नागढुंगामा-सिस्ने खोला नेपालको पहिलो सडक सुरुङ हुने छ।

जसको निर्माण जापान सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा तीब्र रुपमा निर्माण भइरहेको छ। उक्त सुरुङ मार्ग हालसम्म करिब ३० प्रतिशत काम सकिइसकेको छ। 

सुरुङ मार्ग निर्माणका लागि सम्भाव्यता अध्ययन भइरहेका र हुन लागेका ठाउँ

१. कास्कीको हेम्जादेखि नयाँपुल

२. नवलपुरको दुम्कीबासदेखि बर्दघाट

३. चितवनको शक्तिखोर-मझिमटार

४. इलामको सुनमाइ राजदुवालीमा

५. बबई-छिन्चु सुरुङमार्ग

६. बागलुङ-बिउँ-नरेठाँटी रोड टनेल

७. फुस्रेखोला-छोरेपाटन-स्याङजा-गुडिगोला रोड टनेल

८. रारा राजमार्गअन्तर्गत कुशेपाटन-जाजरकोट-जुम्ला रोड टनेल

९. प्रवास-जोर्ते (पाल्पा) रोड टनेल 

१० ताथली-राबियोपी रोड टनेल (भक्तपुर-सिन्धुपाल्चोक)


प्रकाशित : बुधबार, चैत ९ २०७८०४:३४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend